नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी पुर्याउन गत चैत १० मा निर्देशन

काठमाडौं – नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी पुर्याउन गत चैत १० निर्देशन दिएको हो । त्यस अनुसार निर्जीवन बीमा कम्पनीहरुको २०७९ चैत मसान्तसम्ममा न्युनतम चुक्ता पूँजी पुर्याउनु पर्ने थियो । तर उक्त अवधि पर्याप्त नभएको भन्दै बीमा कम्पनीहरुले समय थप्न आग्रह गरेपछि प्राधिकरणले तीन महिना अर्थात असारसम्म समय थपेको जनाइएको छ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन दिएको पछिल्लो अवधि सकिन अब करिब ३ साता मात्रै बाँकी छ । पूँजी बढाउन अधिकाँस निर्जीवन बीमा कम्पनीहरुले मर्जर जोड दिएका थिए । सोहि अनुसार हालसम्म १२ वटा निर्जीवन बीमा कम्पनीहरु मर्जरमा गएका हुन् ।

मर्जरमा गाएका सबै निर्जीवन बीमा कम्पनीहरुले एकीकृत कारोबार समेत थालिसकेका छन् । एकीकृत कारोबार थाल्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् ।

साविकको १२ वटा निर्जीवन बीमा कम्पनीहरु मर्ज भएर ६ वटामा भएका छन् । योसंगै निर्जीवन बीमा कम्पनीहरुको संख्या १४ वटामा सीमित भएका हुन् । त्यसमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेक सबैले यस अघिको हालको न्यूनतम चुक्ता पूँजी १ अर्ब पुर्याइसकेका छन् । राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी हाल २६ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ । यस्तै विदेशी कम्पनीको रुपमा ओरेन्टल र नेशनल इन्स्योरेन्स रहेका छन् । यी दुई कम्पनीले हालसम्म चुक्ता पूँजी उल्लेख गरेका छैनन् ।

आईजीआई प्रुडेन्सियलको सबै भन्दा धेरै, चार कम्पनीको पूँजी पुग्यो

नेपाल बीमा प्राधिकरणले पूँजी बढाउन निर्देशन दिएपछि चार कम्पनीले मात्रै न्युनतम पूँजी कायम गर्न सकेका छन् । आइजीआई प्रुडेन्सिलय इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याएका छन् ।

आइजीआई प्रुडेन्सिलय इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मर्जर पश्चात न्युनतम चुक्ता पूँजी कायम गरेका हुन् । शिखर इन्स्योरेन्सले बोनस शेयर जारी गरी न्युनतम चुक्ता पूँजी कायम गरेको हो ।

साविकको आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सिलय इन्स्योरेन्सबीच मर्ज भएर बनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सबै भन्दा धेरै पूँजी रहेको छ । मर्जर पश्चात कम्पनीको पूँजी २ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

यस्तै सद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब ८० करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको २ अर्ब ६५ करोड रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी पुगेका छ ।

पूँजी बढाउन के तयारी हुदैछ ?

मर्जरमा गएका तीन कम्पनीले भने एकीकृत कारोबार पश्चात पनि न्युनतम पूँजी पुर्याउन सकेका छैनन् । पूँजी पुर्याउन नसक्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआईसी र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् । मर्जर पश्चात पनि नपुगेको पूँजी कम्पनीहरुले शेयरधनीलाई बोनस वा हकप्रद शेयर निष्काशन गरेर पूँजी बढाउने तयारी गरेको छ ।

हाल हिमालयन एभरेष्ट चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । प्राधिकरणको निर्देशन अनुसार २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन कम्पनीले २६ करोड रुपैयाँ मात्रै थप्नु पर्ने देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गरेर सहजै न्युनतम चुक्ता पूँजी पुर्याउने देखिन्छ ।

सानिमा जीआईसी कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले २५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ पूँजी थप्नु पर्ने देखिन्छ । कम्पनीले प्राधिकरणको निर्देशन अनुसार पूँजी पुर्याउन शेयरधनीहरुलाई बोनस वा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । साढे २ अर्ब पूँजी पुर्याउन कम्पनीले ५९ करोड ५४ लाख रुपैयाँ अर्थात ३१।२६ प्रतिशत पूँजी थप्नु पर्ने देखिन्छ । कम्पनीले बोनस र हकप्रद शेयर निष्काशन गरेर न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ । नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र प्रभु इन्सयोरेन्सले भने मर्जरबीनै न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी गरेका छन् ।

त्यस मध्ये नेको इन्स्योरेन्सलाई भने पूँजी बढाउन केहि सहज छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । न्युनतम चुक्ता पूँजी पुर्याउन कम्पनीले २४.२३ प्रतिशत अर्थात ४८ करोड ७६ लाख रुपैयाँ थप्नु पर्नेछ । कम्पनीले सो बराबरको हकप्रद शेयर निष्काशन गरेर चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनीले सबै भन्दा धेरै ८२३.७३ प्रतिशतले पूँजी बढाउनु पर्ने देखिन्छ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ । प्राधिकरणको निर्देशन अनुसार कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने जनाएको छ ।

यस अघि राष्ट्रिय बीमा संस्थान ऐन सकृय रहेकोले कम्पनीलाई न्यूनतम चुक्ता पूँजी पुर्याउन छुट थियो । तर अहिले संस्थान ऐन खारेज भएर नयाँ बीमा ऐन लागु भएपछि कम्पनीले अनिवार्य चुक्ता पूँजी पुर्याउनु पर्ने दबाबमा रहेको छ ।

कम्पनीले शेयरधनीहरुलाई बोनस पश्चात हकप्रद शेयर निष्काशन गरेर चुक्ता पूँजी बढाउने तयारी गरेको छ । विदेशी बीमा कम्पनीको हकमा भने तोकिएको न्यूनतम चूक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । निर्धारित पूँजी कायम गर्न नसकेसम्म ओरेन्टल र नेशनल इन्स्योरेन्सले नाफा लैजान पाउने छैन् ।