अब इन्धनको मूल्य घटाउन समस्या नहुने, आयल निगमले दुई वर्षपछि तिर्यो आइओसीको उधारो

काठमाडौं – नेपाल आयल निगमले इन्डियन आयाल कर्पोरेशनसँग उधारोमा इन्धन खरिद गरेको बक्यौता रकम सबै चुक्ता गरेको छ। निगमका अनुसार, बाँकी रहेको ३ अर्ब २० करोड रुपैयाँ पठाएर आइओसीको बक्यौता मुक्त भएको हो। निगमले हरेक महिनाको ८ र २३ तारिखमा आइओसीलाई इन्धन खरिद बापतको भुक्तानी गर्ने गर्छ।
त्यही अनुसार आइओसीलाई तिर्नुपर्ने बाँकी बक्यौता अन्तिम किस्ता ३ अर्ब २० करोड रुपैयाँ तिरेको निगमले जनाएको छ। निगमले १२ जुनमा नै यस वापतको रकम भुक्तानी गरेको थियो। तर बक्यौता रकमको ब्याज वापत भने अझै ४३ करोड रुपैयाँ तिर्न बाँकी रहेको निगमले जनाएको छ।
रुस-युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको मूल्यवृद्धिका कारण निगमले आइओसीसँग उधारोमा खरिद गर्नु परेको थियो। निगम २०७७ को पुसदेखि घाटामा जान थालेको थियो। त्यसरी उधारोमा तेल खरिद गर्दा गत साउनसम्म निगमको सञ्चित नोक्सानी ३१ अर्ब रुपैयाँ पुगेको थियो।
जसमा आइओसीको मात्र २४ अर्ब रुपैयाँ बक्यौता थियो। धेरै बक्यौता राखेको भन्दै आइओसीले काठमाडौंस्थित नेपालका लागि भारतीय राजदूतावास मार्फत नै ताकेता गरेर निगमलाई दबाब दिन थालेको थियो।
यस्तै सरकारको ७ अर्ब र वाणिज्य बैंकको ३ अर्ब रुपैयाँ ऋण थियो। वाणिज्य बैंकको ३ अर्ब ऋण पनि निगमले चुक्ता गरिसकेको छ भने सरकारको पहिलो किस्ता ७० करोड पनि तिरिसकेको छ।
सरकारसँग लिएको ७ अर्ब ऋणको भने वार्षिक रुपमा दुई वटा किस्ता तिर्नुपर्ने व्यवस्था छ। जसमा पहिलो किस्ता वापतको ७० करोड रुपैयाँ निगमले तिरेको हो। अब सरकारको ६ अर्ब ३० करोड रुपैयाँ मात्र ऋण छ। अहिले निगमलाई मासिक रुपमा लगभग साढे ३ अर्ब रुपैयाँको नाफा छ। हरेक १५ दिनमा निगमलाई १ अर्ब ७५ करोड रुपैयाँ नाफा भइरहेको निगमले जनाएको छ।