अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं – अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आज आइतबार (असार १० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशतले दरले हुने आउने २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई निष्काशन गरीसकेको जनाएको छ ।
बाँकी २९.५५ प्रतिशत अर्थात ६ लाख ५० हजार कित्ता शेयर मध्येपनि १० प्रतिशत अर्थात ६५ हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ३२ हजार ५०० कित्ता सामुहित लगानी कोषलाई र २ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्टाइएको छ । त्यस पश्चात बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
आईपीओमा कसरी आवेदन दिने ?
कम्पनीले निष्काशन गरेको आईपीओमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिने छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोमिख रहेको जनाउँदछ । केयर रेटिङ्गस् नेपालले कम्पनीलाई २०७९ कार्तिक ४ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । सो रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० कार्तिक ४ गतेसम्म कायम हुनेछ ।
कस्तो कम्पनी हो ?
अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड, २०६५ माघ १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार संचालन गर्दै आइरहेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानिय तथा सर्वसाधारणको सहभागिता विस्तार गर्न २०७३ चैत १७ गते पब्लिक लिमिटेडमा परिणत भई कारोबार गर्दै आइरहेको छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं। ४ चन्डोल, काठमाडौंमा रहेको छ । यस्तै कम्पनीको आयोजना स्थलको कार्यालय भने लमजुङ्गका ताघ्रिङमा रहेको छ । कम्पनीले सोहि स्थानमा २.४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाको निर्माण गर्दैछ ।
यस आयोजनाको कुल लागत निमाणर् अवधिको व्याज सहित ५० करोड ४७ लाख ९४ हजार ३३८ रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख ३० हजार रुपैयाँ रहेको छ । आयोजनाको साधारण तर्फ लगानी फिर्ता हुने अवधि ७.७४ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.९१ वर्ष रहेको छ ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले प्रबन्धपत्रमा भएको व्यवस्था अनुसार जारी पूँजीको ३९.५५ प्रतिशतले हुन आउने ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानिय र २९.५५ प्रतिशत सर्वसाधारणको लागि गरी जारी पूँजीको ३९.५५ प्रतिशतका रदले हुने सो बराबरको शेयर निष्काशनमा ल्याएको हो ।
हाल कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै २२ करोड रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ३० लाख रुपैयाँ मात्रै रहेको छ । सर्वसाधारणलाई ८ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात २२ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले आईपीओ निष्काशनबाट संकलन भएको ८ करोड ७० लाख रुपैयाँ सबै रकम कर्जा भुक्तानीका लागि प्रयोग गरिने जनाएको छ ।
दुई वर्षमा साढे २ करोड माथि नाफा कमाउने
आर्थिक वर्ष २२०८१/८२ मा कम्पनीले २ करोड ५९ लाख १२ हजार रुपैयाँ संञ्चित नफा आर्जन गर्ने जनाएको छ । चालु आर्थिक वर्ष अर्थात २०७९/८० को अन्त्यसम्ममा भने कम्पनी ८५ लाख ७२ हजार रुपैयाँ नोक्सानी व्यहोर्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा पनि कम्पनी २ करोड ५ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ १० पैसा पुग्ने अनुमान छ । आर्थिक वर्ष २०८१/८२ सम्ममा भने कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८७ पैसा पुग्ने अनुमान रहेको छ ।
पूँजी संचरना कस्तो ?
हाल कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै २२ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी १३ करोड ३० लाख रुपैयाँ मात्रै रहेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरु र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, कर्मचारी तथा सामुहिक लगानी कोष सहित) को लागि ८ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ पुग्ने बताएको छ । आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ६०.४५ प्रतिशत र सर्वसाधारणको ३९.५५ प्रतिशत कायम हुने छ ।
सञ्चालक समितिको संरचना
कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।
हाल समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ४ जना र १ जना स्वतन्त्र सञ्चालक गरी समितिमा ५ जना रहेका छन् । सर्वसाधारणलाई शेयर निष्काशन भई बाँडफाँट पश्चात आगामी साधारण सभाबाट निर्वाचित भएपछि प्रबन्धपत्र अनुसार सञ्चालक चयन हुने कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालक समितिको अध्यक्षमा बिर बहादुर घले रहेका छन् । यस्तै कम्पनीका अन्य सञ्चालकहरुमा सोनाम लामा, सौरभ ढकाल, सुरज राजवहाक र दिपिका ज्ञवाली रहेकी छन् । ज्ञवाली महिला एंव स्वतन्त्र संञ्चालक हुन् ।
भावी योजना तथा रणनीति
कम्पनीले आफ्नो व्यवसायरसेवाको बृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने समयवद्ध रणनीति समेत बनाएको छ ।कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाहरुको अध्ययन, आयोजना निर्माण, विद्युत वितरण, अन्य जलविद्युत आयोजनाहरुमा लगानी र जलविद्युत कम्पनीहरुको धितोपत्रमा लगानी गरि नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ ।
कम्पनीले आफ्नै नाममा रहेको लमजुङ्गमा अवस्थित २.४ मेगावाट माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माणको चरणमा छ । कम्पनीले मुख्य रुपमा यहि परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।
माथिल्लो स्याङ्गेखोला जलविद्युत आयोजनाको निर्माण पश्चात कम्पनीको आयमा हुने प्रवाहको आधारमा ठुला नयाँ आयोजनाहरुको खोजी गरि नयाँ जलविद्युत आयोजनाहरुको निर्माण गर्दै जाने कम्पनीको योजना रहेको छ ।