पेट्रोलियम आयात ६७ अर्बले घट्यो, ११ महिनामा २.७३ खर्ब

काठमाडौं – यो वर्ष पेट्रोलियम पदार्थको आयात घटेको छ। चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।
अघिल्लो वर्ष यही अवधिमा ३ खर्ब ४० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको आयात ६७ अर्ब रुपैयाँले घटेको जनाएको छ।
भन्सार विभागका अनुसार चालु आवको ११ महिनाको अवधिमा ग्यास, पेट्रोल, हवाई इन्धन, मट्टितेल र डिजलको आयातमा २ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ देशबाट बाहिरिएको हो। जेठ महिनामा मात्र २५ अर्ब २६ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।
यसबाट सरकारले ९३ अर्ब ५८ करोड ७४ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ। विभागका अनुसार ११ महिनामा कुल १ खर्ब ३७ अर्ब ६० करोड २६ लाख बराबरको डिजलमात्र आयात भएको छ। यसबाट सरकारले ४८ अर्ब ४९ करोड ४३ लाख बराबरको भन्सार शुल्क मात्र संकलन गरेको छ।
यो अवधिमा ६१ अर्ब ३८ करोड ८८ लाख बराबरको पेट्रोल नेपाल आयात भएको छ। यसबाट सरकारले ३३ अर्ब ४४ करोड बराबरको भन्सार शुल्क संकलन गरेको छ। डिजल १२ लाख २६ हजार २९८ किलोलिटर र पेट्रोल ६ लाख २१ हजार १२७ किलोलिटर आयात भएको छ।
यो अवधिमा ५४ अर्ब ३२ करोड ९७ लाख बराबरको ४७ करोड ४० लाख ५७ हजार ८१ केजी ग्यास आयात भएको छ। यसबाट सरकारले लगभग ९ अर्ब ३५ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।
हवाई इन्धन यो अवधिमा १८ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ बराबरको १२ लाख ४४ हजार १६० किलोलिटर आयात भएको छ। यसबाट सरकारले लगभग १ अर्ब ३६ करोड भन्सार शुल्क संकलन गरेको छ।