किलोको ५२ रुपैयाँमा आइपुग्यो, आयात हुन थालेपछि प्याजको मूल्य स्वाट्टै घट्यो

काठमाडौं- भारतबाट प्याजको आयात पुन:सुरु भएपछि भाउ पनि स्वाट्टै घटेको छ। आयातमा १३ प्रतिशत भ्याट लागेपछि व्यवसायीहरुले प्याज आयात गर्न छोडेका थिए। आयात रोकिएपछि बजारमा अत्याधिक मूल्यवृद्धि भएको थियो। प्रतिकेजी ४५ रुपैयाँमा खरिद गर्दै आएका उपभोक्ताले केही दिनमै प्रतिकेजी एक सय रुपैयाँभन्दा बढी मूल्य तिर्नुपर्ने अवस्था आएको थियो।
सोमबारदेखि कालिमाटी तरकारी बजारमा भारतबाट प्याज भित्रिने थालेको कालिमाटी फलफूल तथा तरकारी बिकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए। हिजोमात्र बजारमा ५६ टन प्याज भित्रिएको उनले जानकारी दिएकारी दिएका छन्।
आयात भएसँगै कालिमाटी बजारले आजदेखि दैनिक मूल्यसूचीमा प्याज पनि समावेश गरेको छ। प्याजको मूल्य प्रतिकेजी ५२ रुपैयाँ तोकिएको छ। यसअघि भ्याट लागेका कारण कालिमाटी बजारमै प्याजको मूल्य ६० रुपैयाँ पुगेको थियो।
जेठ २० गतेदेखि प्याजको आयात ठप्प भएको थियो। व्यवसायीहरुले आयात महंगो हुने भन्दै आयात गर्न छोडेका थिए।व्यापारीहरुले स्टक सकिएको भनेपछि कालिमाटी बजारले असार ३ गतेसम्म प्याजको मूल्य कायम गरेको थिएन। यस्तै बजारले सार्वजनिक गर्ने दैनिक मूल्य सूचीबाट प्याजलाई हटाइएको थियो।
भारतबाट प्याज नआउँदा केही परिमाणमा स्वदेशी प्याज बजारमा आएको थियो। हाल भने स्वदेशी प्याज बजारमा आउन छोडेको सुचना अधिकारी श्रेष्ठले बताए। देशकै ठूलो तरकारी बजारमा प्याजको स्टक सकिएको भन्दै खुद्रा व्यापारीहरुले प्याजको मूल्य अत्याधिक बढाएर प्रतिकेजी एक सय ३० रुपैयाँसम्म पुर्याएका थिए। व्यवसायीहरुले पुन:आयात गर्न थालेपछि प्याजको मूल्य पुरानो कायम भएको छ। कालिमाटी तरकारी बजारमा दैनिक एक सय टनभन्दा बढी प्याजको आयात हुने गरेको बजारले जनाएको छ।