गत साता ५ प्रतिशतभन्दा बढी बढेको नेप्से, आगामी साता के होला ?

काठमाडौं – गत साता नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको थियो। अघिल्लो साता १९३९.६१ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.२८ प्रतिशत अर्थात १०२.४६ अंक बढेर २०४२.०७ विन्दुमा पुगेको हो। गत साता पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो। अघिल्लो साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले गत साता पनि सोही गतिलाई निरन्तरता दिएको हो।

खरिदकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन नेप्सेमा ड्रयागनफ्लाई डोजी मैनबत्ती बनाएको छ। यो रिभर्सलको संकेत हो। अर्थात आगामी कारोबार दिन नेप्से रिभर्स हुने सम्भावनालाई संकेत गर्दछ।

प्रतिरोध तोडेर उकालो लाग्यो

गत साता नेप्से परिसूचक बलियो प्रतिरोध तोडेर उकालो लागेको हो। नेप्सेले सो साता १९८० देखि २०१५ सम्मको प्रतिरोध क्षेत्र तोडेको हो। यस अनुसार यस साता नेप्से ओरालो लागेमा भने सोही क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने २०९० देखि २११५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बलियो भोल्यूम

नेप्सेको वृद्धिलाई गत साता भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने दैनिक औषत भोल्यूम २ अर्ब २८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनाम दैनिक औषत भोल्यूम ६३.५९ प्रतिशत बढी हो।

बुलिश प्रवृत्तिमा

गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको छ। नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै शून्य रेखाभन्दा माथि अर्थात सकारात्मक क्षेत्रमा रहेको छ। त्यसैगरी, नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ।

खरिद चाप बढी

यस साता स्टकास्टिक आरएसआईमा नेप्से ओभरबट जोनमा पुगेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ। (यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।) (उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)