राष्ट्रिय बीमा कम्पनीले असारभित्र पुँजी मापदण्ड पुर्‍याउन नसक्ने

काठमाडौं – सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको असार मसान्तभित्र चुक्ता पुँजी वृद्धि नहुने भएको छ। बीमा प्राधिकरणले असार मसान्तभित्र सबै बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको छ। यसअघि चैतसम्म समय दिएको थियो। उक्त समयमा कम्पनीहरुले पुँजी वृद्धि गर्न नसकेपछि प्राधिकरणले थप ३ महिना समय दिएको थियो।

अन्य बीमा कम्पनीहरु तोकिएको समयभित्र पुँजी वृद्धि गर्न मर्जरमा जाने, मर्जर नहुने कम्पनीले सम्पत्ति बेचेर पुर्‍याउने योजना प्राधिकरणमा बुझाएका छन्। हाल संचालनमा रहेका बीमा कम्पनीमध्ये सबैभन्दा कम चुक्ता पुँजी रहेको यो सरकारी कम्पनीले प्राधिकरणको निर्देशनलाई गम्भीर रुपमा नलिएको पाइएको छ।

कम्पनीले असार मसान्तभित्र पुँजी वृद्धि गर्न नसक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बताए। ‘पुँजी वृद्धिका लागि कम्पनीमा कुनै तयारी छैन, उनले भने,’यस बारे त कुनै छलफल समेत भएको छैन।’

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ छ। बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीले अझै २ अर्ब २४ करोड रुपैयाँ पुँजी वृद्धि गर्नु पर्नेछ। एक वर्षसम्‍म पुँजी वृद्धि गर्न नसकेको कम्पनीले अबको एक महिनामा यति ठूलो रकम जोहो गर्न असम्भव देखिएको छ।

प्राधिकरणले थपेको तीन महिना सकिन लाग्दा पनि पुँजी बढाउन कुनै तयारी नगरी बसेको छ। सरकारी कम्पनी भएकाले पटक पटक प्राधिकरणको निर्देशनलाई अटेरी गरिरहेको छ।

त्यस्तै, कम्पनीले असार मसान्तभित्र पुँजी वृद्धि नगरे कारबाही गर्ने प्राधिकरणले जनाएको छ। सरकारी कम्पनी भए पनि प्राधिकरणले त्यतिकै नछोड्ने जनाएको छ।

चैत मसान्तभित्र मर्जरमा जाने भनेका नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई कारबाही गर्ने भनेको थियो। उक्त कम्पनीहरुलाई तीन महिनाको समय दिइएको छ। तोकिएको समयमा पुँजी पुर्‍याउन नसके दुई कम्पनीलाई कार्बाही हुनेछ। जसले गर्दा नेपाल इन्स्योरेन्सले सम्पत्ति बेचर पुँजी जोहो गर्ने खोजिरहेको छ। प्रभु इन्स्योरेन्सले विदेशी कम्पनी ल्याउन खोजिरहेको प्राधिकरणले जनाएको छ।

चालु आर्थिक वर्षको तेस्रो मसान्तसम्म कम्पनी नाफामा गएको छ। तर कम्पनीले लामो समयदेखि लेखापरीक्षण समेत नगरी बसेको थियो। कम्पनीले आर्थिक वर्ष २०७३र७४ देखि लेखापरिक्षण नगरी बसेपछि अर्थमन्त्री विष्णु पौडेलले ३ महिनाभित्र लेखापरीक्षण गर्न निर्देशन दिएका थिए। जसमा कम्पनीले बुधबार ३ आर्थिक वर्षको एकैपटक साधारणसभा गरेको छ।