सुस्त रहेको घरजग्गा र शेयर बजार चलायमान हुँदै, जेठमा ह्वातै बढ्यो घरजग्गाको कारोबार

काठमाडौं –  लामो समयदेखि सुस्त रहेको शेयर बजार र घरजग्गा क्षेत्र चलायमान हुन थालेको छ। शेयर बजार बिगत केहि सातादेखि लगातार बढ्दो क्रममा छ भने भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठमा घरजग्गाको कारोबारमा पनि उछाल देखिएको छ। ।

विभागका अनुसार जेठ महिनामा ५५ हजार ६९ वटा घरजग्गा किनबेच भएको छ। यो चालु आर्थिक वर्षकै उच्च कारोबार हो। वैशाखमा देशभरका मालपोत कार्यालयबाट ४२ हजार ४६१ वटा घरजग्गा किनबेच भएको थियो भने चैत महिनामा ४९ हजार घरजग्गा किनबेच भएको थियो । जेठमा कारोबार पुनः बढेको हो।

यसअघि फागुन महिनामा ४० हजार ७३४ घरजग्गा किनबेच भएको थियो भने माघमा ४१ हजार ८६, पुसमा कुल ३८ हजार ८७१ वटा र मंसिरमा २९ हजार १८४ घरजग्गा किनबेच भएको थियो ।

जेठ महिनामा ४ हजार ७१९ वटा घरजग्गा नामसारी, ७ हजार ५१८ वटा संशोधन, ४० हजार ५४९ वटा रोक्का र ३० हजार ८०९ वटा फुकुवा भएको छ। वैशाखमा ३ हजार ३७८ वटा घरजग्गा नामसारी, ५ हजार १२० वटा संशोधन, ३० हजार ५७२ वटा रोक्का र २३ हजार ६४२ वटा फुकुवा भएको थियो।

कारोबार बढेसँगै जेठमा सरकारको राजस्व संकलन पनि बढेको छ। जेठमा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेकोमा जेठमा रजिष्ट्रेशन दस्तुरवापत १ अर्ब ४२ करोड २६ लाख रुपैयाँ र पुँजीगत लाभकरवापत १ अर्ब २८ करोड ८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । वैशाखमा ३ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग नियमावली,२०७९ जारी गर्दै काठमाडौं उपत्यका लगायतका क्षेत्रमा जग्गाको कित्ताकाटमा कडाई गरेको थियो। स्थानीय तहले जग्गाको वर्गिकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो।

सो पश्चात सहज रुपमा जग्गाको कित्ताकाट हुन सकेको छैन। अहिले जग्गाको कारोबार भने सरकारले उक्त नियमावली ल्याउनुभन्दा अघिकै अवस्थामा पुगिसकेको छ।

पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलता केहि सहज हुन थालेको र घरजग्ग क्षेत्रमै पनि कर्जा लगानी बढ्न थालेकोले कारामेबार बढेको हो। अहिले ब्याजदर पनि घट्दै गएकोले शेयर बजार र घरजगा नै चलायमान हुन थालेको हो।