कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, ५ सय २५ संक्रमित थपिए

काठमाडौं – बिहीबार मुलुकभर कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ४ जनाको मृत्यु भएको बताए ।

मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा, महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा, धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ। मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय २५ संक्रमित थपिएका छन । डा. गौतमका अनुसार मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ८ सय ३७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

विगत २४ घण्टामा ९ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ८३ हजारको पिसिआर परीक्षण भएको छ।