आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्था (ADLB) को शेयर कारोबार रोक्का गरेको छ । आदर्शलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गरेर असार १ गतेदेखि एकिकृत कारोबार थाल्दै भएपनि शेयर कारोबार रोक्का गरेको जनाएको छ ।

लघुवित्तले मर्जर प्रयोजनको लागि शेयर कारोबार रोक्का गर्न नेप्सेलाई जेठ २८ गते आग्रह गरेको थियो । सोहि पत्रका आाधारमा नेप्सेले असार १ गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरेको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले गत फागुन ३० गते साधारण सभा मार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्तावलाई अनुमोदन गराएका थिए । डिप्रोक्स लघुवित्तको एक्काइसौँ वार्षिक साधारण सभा होटल सेभेन स्टार सौराहा, चितवनमा भएको थियो । त्यसैगरी, आदर्श लघुवित्तको पाँचौ वार्षिक साधारण सभा गौतम भिलेज रिर्सोट, सिनागल, काभ्रेपलाञ्चोकमा भएको थियो ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने सहमति भएको हो । दुवै संस्था एक भएपछि लघुवित्तको चुक्ता पूँजी एक अर्ब ५५ करोड १० लाख रुपैयाँ पुग्ने छ । प्राप्ति पश्चात डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय चितवनको भरतपुर महानगरपालिका वडां. १० भरतपुरमा रहने  छ ।