अनलाइन भुक्तानी गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको जनाएको छ।
विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था,भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई केवाइसी सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटिपी नम्बर उल्लेख भएको म्यासेज लगाएतका विवरण माग्ने गरेको बुझिएको भन्दै राष्ट्र बैंकले सजगता अपनाउन आग्रह गरेको हो ।
यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङरइन्टरनेट बैंकिङरकनेक्ट आईपिएसरवालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्याई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस सन्दर्भमा यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्न/नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन वा बैंकको ईमेल ठेगाना [email protected] मा अबिलम्ब जानकारी गराउन आगह गरेको छ ।
साथै, भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुले यस्ता अवाञ्छित गतिविधिहरुलाई सुक्ष्म रुपमा निगरानी गर्न समेत बैंकले निर्देशन दिएको छ ।