कर्जा प्रवाह सुस्त हुँदै गएपछि बैंकहरुले बोलाएरै दिन थाले शेयर ऋण

काठमाडौं – बैंक वित्तीय संस्थामा निक्षेप बढ्दै गएपनि कर्जा प्रवाह सुस्त हुँदै गएपछि बैंक वित्तीय संस्थाले यति बेला शेयर कर्जा बोलाएरै दिन थालेका छन्। बैंक वित्तीय संस्थाले आफ्ना पुराना ऋणीलाई बोलाएर ऋण दिन थालेका हुन्। नयाँ माग्न जानेलाई पनि उनीहरूले यति बेला सजिलै ऋण दिइरहेको बताइएको छ।
यति बेला बैंकहरुले बोलाएरै ऋण लैजान भनिरहेका छन्। हामी जस्ता पुराना ऋणीलाई उनीहरूले ऋण लैजान भनिरहेका छन्। नयाँ ऋण माग्न जानेहरूलाई पनि उनीहरूले सजिलै ऋण दिइरहेका छन्” नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले मेरो लगानीसँग भने।
ढकालका अनुसार यति बेला सरकारी बैंकले समेत ऋण दिन थालेका छन्। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक दुवैले शेयर ऋण प्रवाह गरिरहेका छन्। व्याजको सन्दर्भमाचाहि सबै जसो बैंकले यति बेला बेस रेटमा तीन प्रतिशत प्रिमियम जोडेर दिइरहेका छन्। कसै कसैले भने चार प्रतिशतसम्म प्रिमियम लिएको सुनिएको छ। त्यसमा ऋणीले अतिरिक्त सेवा शुल्क तिर्नु पर्छ।
ऋण दिने लाइनमा बैंकदेखि फाइनान्ससम्म छन्। अझै सबैभन्दा बढी शेयर ऋण दिन नबिल बैंक एग्रेसिभ देखिएको बताइएको छ।“हाम्रोमा सबैभन्दा बढी शेयर ऋण लिएर नबिल बैंकबाट आएका छन्। यति बेला नबिल बैंकले शेयर ऋण राम्रैसँग दिइरहेको छ। अरू बैंकले पनि धेरै थोरै दिएकै छन्। तर यति बेला सबैभन्दा बढी शेयर ऋण नबिल बैंकले दिई रहेको छ” कन्चनजङ्गा सेक्युरिटिजका सञ्चालकले मेरो लगानी सँग भने।
ती सञ्चालकका अनुसार असारमा बैंक वित्तीय संस्थाले खासै ऋण दिन रुचाउँदैनन्। तै पनि उनीहरूले ऋण दिनु भनेको निक्कै राम्रो पक्ष हो। यसले बैंकमा पैसा रहेको तर लगानी गर्ने क्षेत्र अलि कम रहेको जनाउ दिन्छ।
असार सकिएपछि शेयर ऋणको लागि विज्ञापन नै आउन थाल्ने उनको दाबी छ। “असारमा ऋण दिँदा गुड लोनमा पनि १ दशमलव ३ प्रतिशत प्रोभिजनिङ गर्नु पर्छ। उनीहरूले जति प्रोभिजनिङ गर्नु पर्छ त्यस अनुसार यो एक महिनामा प्रफिट हुँदैन। त्यसकारण अरू बैंकले आएकालाई दिने नआए ठिकै छ भन्ने स्थितिमा छन्। तर असार सकिए लगत्तै सबै बैंकले ऋण दिन सुरु गर्छन्। शेयरमा ऋण दिने बैंकको लाइन नै लाग्छ ती सञ्चालकले भने।
शेयर ऋणको सञ्चार माध्यममा खासै प्रचार प्रसार नगरिएको भएपनि मौखिक प्रचार भने निक्कै बढेको ब्रोकरहरू बताउँछन्। केही बैंकहरुले ब्रोकर कम्पनीहरूलाई सम्पर्क गरेर ऋण लिने मान्छे भए पठाइदिनु भनेर भन्ने गरेका छन्। बैंकहरुले ऋण लिने मान्छे भए पठाइदिनु भनेर भनिरहेका छन्।
खासगरि हाम्रोमा विकास बैंकहरुले बढी भनिरहेका छन् शनि सेक्युरुटिजका सञ्चालक सन्तोष न्यौपानेले मेरो लगानी सँग भने। कामना सेवा विकास बैंक,गरिमा विकास बैंक,मुक्तिनाथ विकास बैंकले शेयर ऋण लिन मौखिक आग्रह गरिरहेका हुन्। शेयर ऋण दिनेमा प्राइम बैंक र सिद्धार्थ बैंक पनि अघि नै देखिएका छन्।