एनआईसी एसिया बैंकले लुकायो कोरोना संक्रमणको विवरण : तीन दिनदेखि बैंक बन्द, ग्राहकलाई गलत सूचना

काठमाडौं – एनआईसी एसिया बैंकको अनामनगर शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको आशंका गरिएको छ । ती कर्मचारीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि बैंकले अनामनगरको शाखा तीन दिनदेखि बन्द गरेको छ ।

अनामनगर शाखामा कार्यरत एक कर्मचारीले दिएको जानकारी अनुसार उनको स्वाव परिक्षणका लागि प्रयोगशाला पठाइएको छ । उनको रिर्पोट नआउँदासम्म बैंकको शाखा नखोलिने ति कर्मचारीले बताए ।

गजवको कुरा त के छ भने, बैकले हरेक दिन फरक फरक सूचना निकालेर जनतामा भ्रम छरिरहेको छ । संक्रमणको आशंका भएको पहिलो दिन अर्थात साउन २७ गते बैंकले शाखाको मर्मत सम्भार गर्न पर्ने भएकाले शाखा बन्द रहेको सूचना निकालेको थियो । तर भोलीपल्ट अर्थत साउन २८ गते शाखाले प्राविधिक कारण शाखा बन्द रहेको सूचना निकाल्यो ।

सोमबार बैंकको फण्ड डेक्समा कार्यरत कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)सँग सम्बन्धी लक्षण देखिएपछि मंगलबारबाट उक्त कार्यलयमा सूचना टाँस गरेर बैंकको सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

बैंकले सूचना लुकाएकोमा एक जना ग्राहकले आपक्ति जनाए । आर्थिक सवालसँग कुरा गर्दै ती ग्राहकले भने, ‘मैले सोमबार चेक प्रिन्टका लागि दिएको थिएँ । मंगलबार लिन आएको बैंक बन्द थियो । मर्मत संभारका लागि बन्द गरिएको सूचना देखेपछि फर्किँए ।’

उनले अगाडि भने, ‘बैंकको गलत सूचनाका कारण मेरो कारोबार रोकियो । मर्मतका लागि भनेर सूचना टाँस गर्नुले हामीमा पनि संक्रमणको खतरा बढ्यो । समयमै सूचना दिएको भएर क्वारेन्टाइनमा बस्न हुन्थ्यो ।’

बैंकको गलत सूचानका कारण संक्रमण झन फैलिने भन्दै सूचना लुकाएर बैंकले बलण्डर गरेको उनको भनाई । ‘समयमै सूचना दिएको भए घरमै बस्न हुन्थ्यो । अव कतिलाई भेटिसकियो । डर पो लाग्न थाल्यो’ ती ग्राहकले भने ।