नेप्से ३२०० नपुग्दै यी तीन कम्पनीले तोडे अल टाइम हाइ’ को रेकर्ड

काठमाडौं – विगत केही दिनदेखि बढ्दो ट्रेन्डमा रहेको होटल तथा पर्यटन समूह सूचकले अल टाइम हाइको रेकर्ड राखेको छ । नेप्से परिसूचक अल टाइम हाइ भन्दा झन्डै ३६ प्रतिशत मुनि अर्थात २०२२ विन्दुमा हुँदा होटल तथा पर्यटन समूह भने पछिल्लो अल टाइम हाइलाई तोड्दै नयाँ अल टाइम हाइको नयाँ रेकर्ड बनाउन सफल भएको हो । २०७८ को भदौ २ गते नेप्से परिसूचकले अहिलेसम्मकै अल टाइम हाइ ३१९८ को रेकर्ड बनाएको थियो ।

कोभिड संक्रमण कम हुँदै गएपछि पछिल्लो समय पर्यटन क्षेत्र विस्तारै सुधार हुँदै गएको जनाएको छ । पर्यटन आगमनको संख्या सन् २०१९ कै हाराहारीमा पुग्न लागेको छ । होटलको ओकुपेन्सी टाइट हुँदा सुचीकृत कम्पनीको नाफामा पनि छलाङ मारेको रिपोर्ट सार्वजनिक हुन थालेपछि भने पर्यटन क्षेत्रको कम्पनीको शेयरको माग विस्तारै बढ्न थालेको लगानीकर्ताहरु बताउँछन् । बजेट आउनु १ हप्ता अगाडि बाटै होटल समूहका कम्पनीको शेयरमा चमक देखिएको थियो भने बजेटमा शेयर बजारबाट कमाएको नाफामा समेत आयकर ऐन २०५८ अनुसार कर लगाउने प्रावधान थपिएपछि केही दिन समग्र बजार नै घट्न पुगेको थियो । करको विषय अर्थ मन्त्रालयले स्पष्ट रुपमा पुँजीगत लाभ कर नै अन्तिम कर भएको प्रष्ट पारेपछि भने पुनः होटल क्षेत्रकै कम्पनीमा पुनः र्याली देखिन थालेको हो ।

 

मंगलबार नेप्से परिसूचक ३४.१७ विन्दुले बढेर २०२०.६४ विन्दुमा पुग्दा होटल तथा पर्यटन समूह सूचक भने १०३.७६ विन्दुले बढेर ४६२२.६८ विन्दुमा पुगेको छ जुन अल टाइम हाइ विन्दु हो । यसअघि २०७७ सालको चैत्र २६ गते होटल समूहले अल टाइम हाइको रेकर्ड बनाएको थियो । त्यस बेला होटलको समूह परिसुचक ४१२८.४७ विन्दुमा थियो । नेप्सेले ३१९२ को अल टाइम हाइको रेकर्ड बनाउँदा भने होटल परिसूचक ३६३६.६६ मात्रै थियो ।

पछिल्लो समय होटल तथा उत्पादनमूलक समूहमा आएको र्यालीसँगै यी कम्पनीहरुको शेयर मूल्य अल टाइम हाइको नयाँ रेकर्ड बनाउन सफल भएको छ । होटल समूहका कम्पनीको शेयर मूल्यमा भइरहेको निरन्तर वृद्धिसँगै सोल्टी होटल्स र तारागाउँ रिजेन्सी होटल्सको शेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३१९८ हुँदा २७८ रुपैयाँ रहेको सोल्टी होटलको शेयर मूल्य मंगलबार बजार बन्द हुँदासम्म ३ सय ८६ रुपैयाँ पुग्यो जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

त्यसैगरी नेप्से परिसूचक उच्च विन्दुमा रहँदा ४ सय २३ रुपैयाँमा अन्तिम कारोबार भएको तारागाउँ रिजेन्सी होटल्सको शेयर मूल्य मंगलबार ६ सय ८३ रुपैयाँमा कारोबार भयो । यो पनि अहिलेसम्मकै उच्च मूल्य हो । माओवादी जनयुद्धताका तारागाउँको शेयर मूल्य ५० रुपैयाँभन्दा पनि तल झरेको थियो ।

त्यस्तै उत्पादनमूलक समूहतर्फ युनिलिभर नेपालको शेयर मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ। नेप्से परिसूचक उच्च विन्दुमा रहँदा २० हजार रुपैयाँमा कारोबार भएको युनिलिभरको शेयर मूल्य मगलबार बजार बन्द हुँदा ३४ हजार ३ सय ९९ रुपैयाँमा अन्तिम कारोबार भयो जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसबाहेक सिटी होटलस, सुपरमाडी हाइड्रोपावर, शुभम पावर, डोल्टी पावर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, मकर जित्माया सुरी हाइड्रोपावर लिमिटेड, नेपाल ल्युब आयल, बोटलर्स नेपाल बालाजु लिमिटेड, बीपीडब्ल्यू लघुवित्त वित्तिय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेनस र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पनि अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भयो। पछिल्लो समय आइपीओ निष्काशन गरेका कम्पनीहरु र दुई कम्पनी मर्जर भएर एकीकृत कारोबार गरेपछि नयाँ मूल्य अनुसार उच्च मूल्य हिसाब गरिएको हो ।