एक अर्ब ३० करोड रुपैयाँको सरेन्डर बीमा पोलिसी सरेन्डर चैतभन्दा वैशाखमा अझ वृद्धि,

काठमाडौं – जीवन बीमाका पोलिसी खरिद गरेर अवधि नै पुरा नभइ छाड्नेको संख्या लगातार बढेको छ। वैशाखमा मात्रै जीवन बीमा कम्पनीबाट एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ।
गत चैतका तुलनामा कम्पनीहरुमा सरेन्डर हुने पोलिसी संख्या र रकम दुवै बढेको जनाएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार वैशाखमा मात्रै १५ जीवन बीमा कम्पनीमा १० हजार ७ सय ९७ वटा बीमालेख सरेन्डर भएको छ।
गत चैतमा एक अर्ब १८ करोड रुपैयाँको ९ हजार ३ सय ५८ वटा बीमालेख त्याग भएको थियो। पछिल्लो समय बीमा कम्पनीहरुमा बीमा सरेन्डर हुने क्रम घटबढ भइरहेको थियो। तर केही महिनायता भने सरेण्डरको संख्या बढ्दै गएको छ।
प्राधिकरणले चुक्ता पुँजी वृद्धि गर्न दबाब दिएपछि कम्पनीहरु मर्जरमा गएका छन्। यसले उनीहरुलाई पुँजी र सेवा प्रवाहमा सुदृढ बनाए पनि बीमितमा सकारात्मक प्रभाव नपरेको आकलन छ।
वैशाखमा बीमा सरेन्डर बढी कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ। नेपाल लाइफको ३१ करोड ९८ लाख रुपैयाँको १४ सय ८३ वटा बीमालेख सरेन्डर भएको छ। यस्तै एसियन लाइफ सरेन्डर संख्या बढेर दोस्रो स्थानमा आइपुगेको छ।एसियनको ३१ करोड ८५ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनको १५ करोड ८५ लाख रुपैयाँको १४ सय ८३ वटा बीमालेख सरेन्डर भएको छ। यस्तै राष्ट्रिय बीमा संस्थानमा १० करोड ३४ लाख रुपैयाँको १४ सय ४२ वटा बीमालेख त्याग भएको छ।
गत महिनामात्र एकीकृत कारोबार सुरु गरेको हिमालयन लाइफ इन्स्योरेन्समा १० करोड २६ लाख रुपैयाँको ५ सय ७७ वटा बीमा पोलिसी सरेन्डर भएको छ। एकीकृत कारोबारको तयारीमा रहेको प्रभु लाइफमा ८ करोड ५८ लाख रुपैयाँको बीमा सरेन्डर भएको छ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्समा ७ करोड ८७ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ। सूर्यज्योति लाइफको ६ करोड रुपैयाँको २ सय ७३ वटा बीमालेख, मेट लाइफको ३ करोड २० लाख रुपैयाँको ४ सय ३ वटा बीमालेख, सानिमा रिलायन्समा १ सय २५ वटा बीमालेख त्याग हुँदा एक करोड २७ लाख रुपैयाँ कम्पनीबाट बाहिरिएको छ।
आइएमई लाइफमा एक करोड ९ लाख रुपैयाँको १ सय ५ वटा बीमालेख,सिटिजन लाइफको ९४ लाख, रिलायबल लाइफको ६८ लाख, महालक्ष्मी लाइफ ५३ लाख र सन नेपाल लाइफको ३७ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ।