गोंगबु हत्याकाण्ड : कल्पनाको बयान फेरीयो, जोडियो यौन र पैसाको कुरा

काठमाडौं – गोंगबु हत्याकाण्डकी अभियुक्त कम्पना मुढभरीले बयान फेरेकी छिन । उनले पछिल्लो बयानमा कृष्णबहादुर बोहोरालाई आमाले नपुगेर लुकिछिपी छोरी ताक्ने गरेको र उनीसँग लिएको ५० लाख तिर्न नसक्ने भएपछि हत्या गरेको बताएकी छिन ।

उनले यसअघि फेसबुकमा आफ्नो नामको खाता खोलेको र आपक्तिजनक फोटोहरु पठाएकाले हत्या गरेको बताएकी थिइन ।

यस्तो छ घटनाको पुरा विवरण

आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टाचाहिँ ३ सय मीटर पूर्वोउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो । अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा काटकुट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी (पौडेल) र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भागे । राति रुस्लान भोड्कामा सितनस्वरूप मासु र दहीच्युरामात्रै खुवाइनन्, पाँचवटा स्लिपिङ ट्याब्लेट पनि हालिदिइन् । कृष्णबहादुरले होस गुमाए, नगुमाएको पत्ता लगाउन हम्मरले अण्डकोषमा बेस्सरी हिर्काइन् । तर, चालचुल नभएपछि घाँटी र खुट्टा रेटेर एकातिर, बाँकी शरीर अर्कातिर पोको पारिन् ।

५० लाख रकम पटक–पटक ताकेता गर्दा पनि कल्पनाले फिर्ता गरिनन् । अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।

सोमबार चितवनबाट पक्राउ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनैतिक सम्बन्ध

मृतक कृष्णबहादुर र अभियुक्त कल्पना दुबै विवाहित हुन् । कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्छन् । कृष्णबहादुर नयाँबजारस्थित एसआई मल्टिपर्पस नामक कपडाको होलसेलबाट सामान लिएर गोंगबु, नयाँबसपार्कतिर सप्लाईको काम गर्थे । आफ्नै कोठा थिएन, गोंगबुकै एक गेष्ट हाउसमा महिनावारी भाडा तिरेर बस्थे । तर, बढीजसो रात कल्पनाकै कोठामा बिताउँथे । यस्तो क्रम दुई वर्षदेखिको हो ।

कल्पनाचाहिँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘हर्के हवल्दार’ मा कहिलेकाँही छोटो भूमिकामा खेल्ने गर्थिन् । उनको विभिन्न ट्याक्सीका ड्राइभरहरूसँग बढी हिमचिम हुन्थ्यो । प्रायः ट्याक्सीमा रातको समय कोठा पुग्थिन् । बिहानचाहिँ कृष्णबहादुरले स्कुटीमा हालेर विभिन्न ठाउँमा पुर्याउने गर्थे । तर, जतिबेला पनि बाहिरै व्यस्त हुने उनी के काम गर्थिन् भन्नेबारे छरछिमेकले यकिनसाथ बताएका छैनन् ।

प्रहरीले घटनापछि कृष्णबहादुरको स्कुटी बरामद गरेको छ ।

हत्याको कारण पैसा र छोरीको बैंस

पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृष्णबहादुरसँग झगडा पर्ने गरेको बयान कल्पनाले प्रहरीलाई दिएकी छन् ।

सोमबार पक्राउ पर्नासाथ कृष्णबहादुरले छोरीलाई बलात्कार गर्न खोजेका कारण हत्या गरेको बताएकी उनले हिजो मंगलबारदेखि बयान फेरेकी छन् । उनको पहिलो बयान घटनासँग बाझ्नेखालको थियो । किनभने, उनले स्लिपिङ ट्याबलेट, मान्छे अटाउने सुटकेश किनेकी छन्, हातखुट्टा बाँध्न प्लाष्टिकको झोला किनिन्, हम्मर र चक्कु राखिएको छ । यस्तो घटना भवितव्य नभई योजनाबद्ध भएको प्रहरीको दाबीपछि बल्ल कुरा खोलिन्, ५० लाखको । कल्पनाले कृष्णबहादुरसँग पटक पटक गरेर ५० लाख रूपैयाँ लिएकी थिइन् । उक्त रकम आफ्नो पार्टनरको भएका कारण छिट्टै फर्काउनुपर्ने दबाब थियो । पटक–पटक ताकेता गर्दा पनि कल्पनाले रकम फिर्ता गरिनन् । बरु, अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।

यसपछि कल्पनासँग नियमित शारीरिक सम्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डुलाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आमा धेरैजसो बाहिरबाहिरै हुने, कृष्णबहादुरचाहिँ काम सकेपछि गोंगबुतिरै हुने । कोठामा हेर्थे, आमा–छोरीमध्ये जो भए पनि पुगिहाल्थे । छोरीमाथि गलत नियतले सम्बन्ध राख्न खोजेपछि उनी प्रतिवाद गर्थिन् । राति आमा आएपछि छोरीले सुनाउने गरेकी थिइन् ।

यसपछि कल्पनाले पैसा नतिर्ने, बरु बलात्कार मुद्दा हाल्ने भन्दै आएकी थिइन् । प्रहरीले कृष्णबहादुर र कल्पनाबीच लेनदेनसम्बन्धी कागजात पनि बरामद गरेको छ ।