दूरसंचार प्राधिकरण बोर्डमा दुवाडीको पदावधि सकिँद

काठमाडौं – संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको बोर्डमा नयाँ सदस्य (बजार व्यवस्थापन) नियुक्तिको प्रक्रिया सुरु गरेको छ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने जनाएको छ।
प्राधिकरणका सदस्य राममणि दुवाडीको पदावधि जेठ ३१ गतेसम्म छ। सरकारले २०७५ जेठ ३१ गते दुवाडीलाई प्राधिकरण सदस्यमा नियुक्त गरेको थियो। ५ वर्षको कार्यकाल सकिनुअघि नै मन्त्रालयले नियुक्ति प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पुरा भएर ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा कम्तीमा स्‍नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभव हुनुपर्ने छ।

तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा पब्लिक कम्पनीको कर्मचारीको हकमा व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा स्‍नातक गरी राजपत्रांकित प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्ने मन्त्रालयले जनाएको छ।दरखास्त आगामी १५ दिन भित्र बुझाउनुपर्नेछ। सरकारले संचार मन्त्रालयका सचिवको नेतृत्वमा बोर्ड सदस्य सिफारिस समिति बनाएको छ।