रुसमा बन्यो कोरोनाविरुद्धको भ्याक्सिन, स्वास्थ्य मन्त्रालयको अनुमतिपछि राष्ट्रपतिको छोरीलाई पहिलो डोज

एजेन्सीैं – रुसमा पहिलो पटक कारोना भाइरस विरुद्धको भ्याक्सिन तयार भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस विरुद्धको विश्वको पहिलो सफल भ्याक्सिन बनाएको दाबी गरेका छन् । उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले स्वीकृती दिएको छ ।
मन्त्रालयको स्वीकृतीपछि राष्ट्रिपति पुटिनको एक छोरीलाई पहिलो पटक औषधि प्रयोग गरिएको छ । मंगलबार एक कार्यक्रममा सहभागि हुँदै पुटिनले आफ्नो एक छोरीमा पहिलो भ्याक्सिन लगाएको र उसले राम्रो महसुस गरिरहेको बताए ।
उनले भने, ‘कोरोना विरुद्धको भ्याक्सिन मानिसमा दुई महिनासम्म परीक्षण गरिएको थियो र उक्त भ्याक्सिन सुरक्षाका सबै मापदण्ड पार गर्न सफल भएको छ ।’
अहिले विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने हाडबाजी नै चलिरहेको छ तर अहिलेसम्म कुनै पनि भ्याक्सिनले अनुमति भने पाएको थिएन । कोरोना भाइरस विरुद्धको भ्याक्सिनका रुपमा यो पहिलोपटक अनुमति पाएको पहिलो भ्याक्सिन हो ।
गमालेया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको यो भ्याक्सिनलाई रुसले कोरोनाविरुद्धको भ्याक्सिनको मान्यता दिएको हो । यसैगरी यो भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि स्वीकृती दिएको छ। यससँगै रुसमा व्यापक रुपमा त्यहाँका मानिसहरुमा कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरुवात गरिने बताइएको छ ।