अहिलेसम्म दुई करोडको टिकट बिक्री भेटियो ट्राभल एजेन्सी वेबसाइट ह्याकरको कब्जामा,

काठमाडौं-  ग्लोबल डिस्ट्रिब्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका ट्राभल एजेन्सीमा ह्याकर प्रवेश गरी दुई करोडभन्दा बढी नोक्सानी पुर्‍याएका छन्।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणाली ह्याकरले कब्जा लिएर नोक्सानी पुर्‍याएका हुन्। ह्याकरले जीडीएसको नाममा इमेल पठाउँदै टिकट बिक्री गरेका छन्।

‘ह्याकरले नेपालमा सेवा दिँदै आएका जीडीएसको लोगो नै राखेर इमेल पठाउँदै आएका छन्। त्यो मेलमा क्लिक गरेलगत्तै ह्याक हुँदै आएको जानकारी दिएका छन्। रातारात उतैबाट टिकट इस्यु भएपछि ठुलो नोक्सानी कम्पनीले व्यहोरेको सूचना आइरहेको जनाएको छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले भने, ‘केही कम्पनीको विवरण आउन बाँकी नै रहेको छ ।

विभिन्न ट्राभल एजेन्सीको आधिकारिक साइट नै ह्याक भएर न्यूनतम ६० देखि ८० लाख रुपैयाँ नोक्सान भएको उनले जानकारी दिएका छन् । यो समस्या समाधानका लागि मुलुकमा जीडीएस सेवा दिँदै आएका ग्यालिलियो, एमाकस र एमाडससँग समन्वय हुँदै आएको थापाले बताए।

‘टिकट बिक्रीका लागि सुरुमा जीडीएस कम्पनीलाई ग्यारेन्टीस्वरुप रकम बुझाइन्छ। त्यही बराबरको रेसियोमा टिकट बिक्री गर्न छुट दिइन्छ। टिकट बिक्रीका लागि आफ्नो पासवर्ड, युजर आइडी राखिन्छ। तर, ह्याकरले उही सेवाप्रदायक कम्पनीको लोगो राखेर मेल पठाएर टिकट बिक्री गरेर ठगी गरेको पाइएको छ । अध्यक्ष थापाले भने, ‘यो घट्ना बाहिर आएपछि कम्पनीहरु त्रसित भएका छन्।

यस्तो गम्भीर मुद्दामा जीडीएस कम्पनी पनि उत्तरदायी हुन आवश्यक रहेको उनले जानकारी दिए। केही कम्पनीले साइबर क्राइममा पनि मुद्दा हालिसकेको उनले बताए। ह्याकरले अधिकांश टिकट मोरक्कोतर्फ जारी गरेको थापाले जानकारी दिए।

एक वर्ष अगाडि आधिकारिक साइट ह्याक भएर फ्लाई दुबईको टिकट ग्यारेन्टी लिएबापत बुझाएको ३० लाख रुपैयाँ नोक्सान भएको सी लिंक ट्राभलका संचालक राजु ढकालले जानकारी दिएका छन् । ‘हामीले पटकपटक विभिन्न निकायलाई गुहार्‍यौं। तर, अहिलेसम्म यो समस्या समाधान भएको छैन। व्यवसायीले सबै सावधानी अपनाउँदा पनि यस्ता घट्ना भइरहेका छन् उनले बताए।

एमाकस, एमाडस, ग्यालिलियो लगायत तीनवटा जीडीएसका प्रतिनिधिले भने ट्राभल एजेन्सी कम्पनीलाई यो विषयमा सतर्कता गराइसकेको जनाएका छन्। ती कम्पनीले समस्या समाधानका लागि आफ्नो प्रविधि सुरक्षित बनाउने प्रयास भइरहेको जानकारी दिएको छ।