भन्सार दर बढेसँगै सुनको भाउ आकाशियो

काठमाडौं- सुनको भाउ नयाँ रेकर्ड कायम भएको छ । जेठ १७ गते,बुधबार सुन तोलामा नै एक हजार ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर बढाएसँगै सुनको भाउ आकाशिएको हो । आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत सरकारले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार बढाएको छ ।

सुनको भन्सार १५ प्रतिशतले बढेर १२ हजार ४ सय रुपैयाँ तोकिएको छ । यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेको थियो । मंगलबार पनि सुनको भाउ २ हजार ४०० रुपैयाँले महंगिएको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ तोकिएको थियो ।

यसअघि वैशाख २१ गतेसुनको भाउ ऐतिहासिक उचाइमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँको उंचाइमा पुगेको थियो । बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३९५ रुपैयाँमा उक्लेको छ । हिजो चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दा एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै प्रति १० ग्राम चाँदीमा लाग्ने भन्सार १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा तोकिएको छ । पहिले १० ग्राम चाँदीमा १०७ रुपैयाँ भन्सार लागेको जनाएको छ।