उत्पादित बिजुली बेच्न नपाउँदा चिलिमेको झिनो नाफा

काठमाडौं – चिलिमे हाइड्रोपावर कम्पनील ०.२५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको यस कम्पनीको विवरण अनुसार नाफा सामान्य मात्र बृद्धि भएको छ ।

कम्पनीको नाफा ७४ करोड ८० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा चिलिमेले ७४ करोड ६२ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले उत्पादन गरेको सबै विद्युत बिक्री गर्न नसक्दा उल्लेख्य नाफा गर्न नसकेको कम्पनील जनाएको छ । लकडाउनका कारण नेपाल विद्युत प्राधिकरणलाई सम्झौताभन्दा बढी विद्युत बिक्री गर्न नपाएको चिलिमेको भनाइ छ ।

विद्युत बिक्रीबाट हुने आम्दानी २.५४ प्रतिशतले घटेर १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष चिलिमेले विद्युत बिक्रीबाट १ अर्ब १७ करोड ४ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चौथो त्रैमाससम्ममा चुक्ता पुँजी २० प्रतिशतले बढेर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसाले घटेर १३ रुपैयाँ १० पैसा भएको छ । चिलिमेको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २४ पैसा रहेको छ ।