बीमा कम्पनीहरुको लगानीयोग्य रकम ६ खर्ब नाघ्यो,

काठमाडौं: जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लगानीयोग्य रकम बृद्धि भएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९र८०मा बीमा कम्पनीहरुको लगानीयोग्य रकम ६ खर्बभन्दा बढी पुगेको छ।
आर्थिक वर्ष २०७९ को फागुनसम्म लगानीयोग्य रकम ६ खर्ब ८२ अर्ब रुपैयाँ छ। बीमा कम्पनीहरुको लगानीयोग्य रकममध्ये जीवनको ८४।७ प्रतिशत र निर्जीवन बीमा कम्पनीको अंश १५।३ प्रतिशत रहेको छ।
फागुन महिनासम्म बीमा कम्पनीहरुको स्रोत तथा उपयोग रकम ७ खर्ब १३अर्ब रुपैयाँ पुगेको छ। २०७९ फागुनसम्म जीवन बीमा व्यवसाय गर्ने बीमकको स्रोत तथा उपयोग खर्च ६ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँ छ। निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको ८९ अर्ब ५८ करोड रहेको छ। यसैगरी जीवन र निर्जीवन बीमा कम्पनीको स्रोत तथा उपयोग रकम कुल ७ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।
गत आर्थिक वर्ष २०७८र७९ को फागुनसम्म बीमा व्यवासयको कुल वित्तीय स्रोत तथा उपयोग रकम ६ खर्ब ४ अर्ब रुपैयाँ थियो।
बीमा कम्पनीको संख्या घटेर ३६ वटामा झरेको छ। गत फागुनसम्म जीवन बीमा कम्पनी १९ वटा, निर्जीवन २० वटा र पुनर्बीमा कम्पनी २ गरी ४१ वटा कम्पनी संचालन थिए। चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमा कम्पनी १८ वटा, १६ वटा निर्जीवन र २ वटा पुनर्बीमा गरी कुल ३६ वटा कायम छन्।
चालु आर्थिक वर्षको फागुनसम्म बीमा कम्पनीहरुको दाबी भुक्ताबनी घटेको छ। जीवन बीमातर्फ १ लाख १३ हजार २६ बीमालेख अन्तगर्त १८ अर्ब ९६ करोड रकम दाबी भुक्तानी भएको छ। निर्जीवनतर्फ १ लाख ९ हजारवटा बीमालेखको १६ अर्ब ४८ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ।
गत आर्थिक वर्षमा जीवनतर्फ ३ लाख ३१ हजार वटा बीमा दाबीको ४४ अर्ब ६० करोड र निर्जीवन बीमातर्फ १ लाख ४१ हजार वटा बीमादाबीको १८ अर्ब ८२ करोड रुपैयाँ दाबी भुक्तानी भएको थियो।
त्यस्तै, २०७८ फागुनसम्म बीमकको शाखा संख्या जीवन बीमा तर्फ घटेको छ। सो अवधिमा जीवन बीमाको शाखा २२ सय ९२ वटा रहेको छ। गत वर्ष फागुनसम्म जीवन बीमाको शाखा संख्या २२ सय ०६ वटा थियो। निर्जीवन बीमातर्फ गत वर्षकै हाराहारीमा १ हजार ३७ वटा शाखा रहेका छन्। बीमा कम्पनी मर्जरमा गएसँगै शाखा घट्दै गएका हुन्।
आर्थिक वर्ष २०७९असारसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमा दायरामा ४१।२ प्रतिशत जनसंख्या रहेकोमा फागुनसम्म ४४।०५ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७८र७९ मा बीमा प्रिमियम १ खर्ब ७७ करोड रुपैयाँ आर्जन भएको छ।