इन्ट्रा डेमा हाइ क्याप कम्पनीहरुको मूल्य बढाएर लगानीकर्ताहरुले गरे प्रोफिट बुक

काठमाडौं- बजेटको पूर्वसन्ध्या नेप्से परिसूचक घटेर बन्द भएको छ। कारोबार अवधिको तीन घण्टासम्म सकारात्मक रहेको नेप्से, सोपछिको समयमा भने घट्न थालेको हो।
बजार खुलेको तीन घण्टासम्ममा हाई क्याप कम्पनीहरुको शेयरमूल्य बढाएर नेप्से परिसूचक सकारात्मक राखेको र सोपश्चात अन्तिम समयमा प्रोफिट बुक गरेको जानकारहरु बताउँछन्। यस दिन अधिकांश हाई क्याप कम्पनीहरुको शेयरमूल्य इन्ट्रा डेमा उच्च दरमा बढेको थियो। जसका कारण नेप्से परिसूचक सकारात्मक देखिएको थियो। हाई क्याप कम्पनीहरुले इण्डेक्स बढाएपछि अन्य कम्पनीहरुको शेयरमूल्यमा पनि सोही अनुसारको प्रभाव देखिएको थियो। पछिल्ला ८ करोबार दिनदेखि उकालो लागिरहेको नेप्से, यस दिन पनि उकालो लागेपछि अन्तिम समयमा लगानीकर्ताहरु नाफा सुरक्षित गरी बाहिरिएका एक विश्लेषकले बताए।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १७।३८ अंक घटेर १९४१।७४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १।९० अंक घटेको छ भने फ्लोट इण्डेक्स १।२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।८७ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २७० स्टकको ४७ हजार ६७४ पटकको कारोबारमा २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ बराबरको ७० लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रोक्का रहेको यूनियन लाइफ इन्स्योरेन्सको आज कारोबार भएपछि कसरी कारोबार भयो भन्ने विषयमा नेप्सेले छानविन गरिरहेको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक ६।४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको हो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका विका सबैंक, वित्त, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।