बीमा अभिकर्ता कमिशन खर्च करिब १७ प्रतिशतले घट्यो, कुन कम्पनीको खर्च कति ?

काठमाडौं-  जीवन बीमा कम्पनीहरुले अभिकर्ता (एजेण्ट) कमिशन वापतको खर्च घटाउँदै लगेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ वटा जीवन बीमा कम्पनीहरुले अभिकर्ता खर्च घटाउँदै ९ अर्ब १२ करोड ४५ लाख रुपैयाँ मात्रै खर्च गरेका छन् ।

यो गत अार्थिक वर्षको यही अवधिको तुलनामा १६.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको चैतसम्ममा जीवन बीमा कम्पनीहरुले १० अर्ब ९७ करोड १८ लाख रुपैयाँ अभिकर्ता कमिशनको लागि खर्च गरेका थिए ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सबै जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशन वापत हुने खर्च घटाएका हुन् । अभिकर्तालाई दिने तलव र स्कीममा दिने खर्च नियन्त्रण गर्न प्राधिकरणले निर्देशन दिएपछि बीमा अभिकर्ताहरुले पाउने रकम घटेको हो । बीमा अभिकर्ताहरूलाई प्रोत्सहान गर्न बीमा कम्पनीहरूले उपहार,स्किम भन्दै वितरण गर्ने सेवा सुविधा पनि बीमा प्राधिकरणले नियन्त्रण गरेपछि अभिकर्ता खर्च घट्न पुगेको हो ।

अभिकर्ता कमिशन घटाउनेमा साविकको युनियन लाइफ अघि

साविकको युनियन लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिशन वापत खर्च सबैभन्दा धेरै ३८.०७ प्रतिशतले घटेर ५८ करोड ५ लाख रुपैयाँमा सीमति भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९३ करोड ७४ लाख रुपैयाँ अभिकर्ताको लागि खर्च गरेको थियो ।

युनियन लाइफपछि साविकको प्राइम लाइफको पनि अभिकर्ता खर्च २२.९४ प्रतिशतले घटेर २४ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, सूर्यज्योति लाइफको २२.७५ प्रतिशत, सानिमा रिलायन्स लाइफको २०.०८ प्रतिशत अभिकर्ता कमिशन घटेका छन् । बाँकी कुनै पनि कम्पनीको अभिकर्ता कमिशन खर्च २० प्रतिशत भन्दा माथि भएको छैन् ।

अभिकर्ता कमिशन सबैभन्दा कम घटाउनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफको अभिकर्ता खर्च १.७५ प्रतिशतले घटेर १ अर्ब ८ करोड ८६ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको यहि अवधीमा कम्पनीले १ अर्ब १० करोड ८० लाख रुपैयाँ खर्च गरेको थियो ।

नेपाल लाइफको मात्रै अभिकर्ता कमिशनमा २ अर्ब बढी खर्च

जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले अभिकर्ता कमिशन वापत सबैभन्दा धेरै रकम खर्च गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल लाइफले २ अर्ब २३ करोड ४३ लाख रुपैयाँ अभिकर्ता कमिशन वापत खर्च गरेको हो । यो जीवन बीमा कम्पनीहरुले गरेको कुल खर्चको २४.४९ प्रतिशत हुन आउँछ ।

नेपाल लाइफ पछि नेशनल लाइफले १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ र एलआईसी नेपालले १ अर्ब ५ करोड २६ लाख रुपैयाँ अभिकर्ता कमिशनको लागि खर्च गरेका छन् ।

यस्तै सूर्यज्योति लाइफले ६२ करोड ६४ लाख रुपैयाँ, सविकको युनियन लाइफले ५८ करोड ५ लाख रुपैयाँ, एशियन लाइफले ५२ करोड १७ लाख रुपैयाँ अधिकर्ता कमिशनको लागि खर्च गरेका छन् ।बाँकी कुनैपनि कम्पनीले अभिकर्ता कमिशन वापत ५० करोड भन्दा बढी खर्च गरेका छैनन् ।

बीमा अभिकर्ताको लागि सबै भन्दा कम खर्च गर्नेमा भने राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थाले चालु आर्थिक वर्षको यस अवधिमा १.५१ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ मात्रै अभिकर्ता कमिशनको लागि खर्च गरेको छ ।

अभिकर्ताले कति पाउछन् कमिशन ?

बीमा अभिकर्ताले बीमालेख बिक्री गरेवापत कमिशन प्राप्त गर्दछन् । अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ ।अभिकर्ताले पाउने कमिसन उसले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुन्छ ।

अभिकर्ता पेशा पूर्णकालीन वा पार्टटाईमको रुपमा काम गर्न सकिने र स्वतन्त्र रुपमा काम गर्न पाइने भएपछि यो पेशा अपनाउन खोज्नेहरुको आकर्षण रहेको पाइन्छ । नेपाल बीमा प्रधिकरणको पछिल्लो तथ्यांक अनुसार जीवन बीमा अन्तरगत अभिकर्ताका लागि अनुमतिपत्र लिनेको संख्या ५ लाखको हाराहरीमा रहेका छन् ।