आवागमनमा अवरोध गर्दै चलाइएका ३५ मोटरसाइकल वर्कसपलाई ५ हजार जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३५ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । बुधबार क्षेत्रबाट खटिएका नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको थियो।

बुधबार नै कवाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने २ जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ। यस्तै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पनि पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ। महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा बाधा गर्नेहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराउँदै आएको छ।