विद्युत उत्पादन कम्पनीले सीइओका लागि विज्ञापन खुलायो के चाहिन्छ ?

काठमाडौं विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको छ। कम्पनीले बिहीबार खुल्ला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गर्नका लागि विज्ञापन खुलाएको हो। यसका लागि ४० वर्ष पूरा गरी ६१ वर्ष ननाघेको नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ बिषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातक पछि जलविद्युत क्षेत्रमा कम्तीमा ४ वर्षको कार्यअनुभव सहित पूर्वाधारको क्षेत्रमा कम्तीमा १२ वर्ष अनुभव हुनुपर्नेछ। यस्तै मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकोत्तरपछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कम्तीमा दुई वर्षको कार्य अनुभव खोजिएको छ। साथै मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धानको अनुभव गरी कम्तीमा १२ वर्षको अनुभव हुनुपर्नेछ। सीइओका लागि आवेदन दिने व्यक्तिले व्यवसायिक रणनीति तथा कार्ययोजना समेत पेश गर्नुपर्ने बताइएको छ। उक्त पदमा आगामी चार वर्षका लागि सीइओ नियुक्त गर्न लागिएको हो। तलब सुविधा कम्पनीको संचालक समितिले तोके बमोजिम हुने कम्पनीले जनाएको छ।
सीइओ नियुक्त गर्नुपर्ने व्यवस्था भएपनि कम्पनीले प्रबन्ध निर्देशकबाट चलाउँदै आएको थियो। करिब एक वर्षको कार्यकालका लागि नियुक्त भएका सूर्य रिजाललाई मिलेमतोमा थप एक वर्ष कार्यकाल थपिएको थियो।
उनलाई गत पुस मसान्तसम्म सीइओ नियुक्त गरिसक्ने गरी एक वर्षका लागि नियुक्त गरिएको थियो। कम्पनीको नियमावली नै संशोधन गरेर रिजाललाई एक वर्ष कार्यकाल थपिएको हो। सीइओ व्यवस्था भएपनि महाप्रबन्धक राखेको भन्दै चौतर्फी आलोचना भएपछि बाध्य भएर विज्ञापन निकालिएको छ। विद्युत विकास विभागका महानिर्देशक तथा कम्पनीका निर्देशक चिरञ्जीवी चटौतको संयोजकत्वमा कमिटी बनेको थियो। उक्त कमिटीले संचालक समितिको निर्देशन अनुसार विज्ञापन खुलाएको हो। ठूला तीन जलविद्युत आयोजना अघि बढाउँदै कम्पनी यो कम्पनीले ठूला तीन जलविद्युत आयोजना अघि बढाएको छ। ४८० मेगावाटको फुकोट कर्णाली, ४५० मेगावाटको किमाथांका अरुण, १९०२मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना अघि बढाउन लागेको हो।
कम्पनीले ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाको अध्ययन पूरा भएको छ। यो आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडसंग मिलेर बनाउन लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको समयमा सम्झौता गर्ने तयारी छ। यो आयोजना निर्माणका लागि ९२ अर्ब ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
४५० मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजानको पनि अध्ययन भइरहेको छ। यो आयोजना अन्तिम चरणमा पुगेको छ। यो संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुनेछ। १९०२ मेगावाटको मुगु कर्णाली पनि अध्ययन भइरहेको छ। यही वर्ष सक्ने योजना छ। नेपाल विद्युत प्राधिकरणको मातहतको एनइए इन्जनियरिङ कम्पनी लिमिटेडले अध्ययन गरिरहेको हो। आयोजनाहरु अध्यययन गरिरहेको भएपनि अहिलेसम्म निर्माण भने गरेको छैन।५ कम्पनीमा लगानी यो कम्पनीले जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडमा ५८ करोड रुपैयाँ, नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडमा १ करोड रुपैयाँ, एनइए इन्जिनियरिङ कम्पनीमा २ करोड ५५ लाख रुपैयाँ, बेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा २५ करोड रुपैयाँ र नेपाल पावर ट्रेड कम्पनी लिमिटेडमा २५ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अघि बढाएका सिम्बुवा खोला र घुन्सा खोलामा समेत लगानी गर्न लागेको छ। यो २० अर्ब रुपैयाँ अधिकृत पुँजी भएको कम्पनी हो। तत्काल जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ। कम्पनीको कुल जारी पुँजीमध्ये ४ अर्ब ५ करोड रुपैयाँ असार मसान्तसम चुक्ता भएको छ।