नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई एक वर्ष भित्र मर्जरमा लैजाने गरी  तेस्रो ठूलो बैंक बन्दै

काठमाडौं – सरकारी स्वामित्वका दुई ठूला बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई एक वर्षभित्र मर्जरमा लैजाने गरी नीतिगत व्यवस्था आगामी वर्षको बजेटमा गरिने भएको छ । निजी क्षेत्रका बैंकहरु धमाधम मर्जरमा गइरहेको बेला सरकारी स्वामित्वको यी ठूला दुई बैंकलाई पनि आगामी आर्थिक वर्ष भित्र मर्जरमा लैजानको लागि सरकारले बजेटमा नै नीतिगत व्यवस्था गर्निजी क्षेत्रका बैंकहरु धमाधम मर्जरमा जान थालेपछि उस्तै प्रकृतिका सरकारी स्वामित्वका यी दुई ठूला बैंकलाई पनि मर्जरमा लैजानु पर्ने आवाज उठ्दै आएको थियो । संसददेखि सडकसम्म यस्तो आवाज बुलन्द रुपमा उठन थालेपछि सरकारले मर्जरको सम्भाव्यताको अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो ।

अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव भुपाल बराल संयोजकत्वमा गठन भएको सो कार्यदलले सम्भाव्यताको अध्ययन गरेको थियो । उक्त कार्यदलले सम्भाव्यताको अध्ययन गर्दै सरकारी यी ठूला दुई बैंकलाई मर्जरमा लैजान उपयुक्त हुने निष्कर्ष निकालेको छ।त्यही निष्कर्षमा आधारमा सरकारले आगामी वर्षको बजेटमा नै सरकारी स्वामित्वका यी ठूला बैंकलाई मर्जरमा लैजाने गरी नीतिगत व्यवस्था लागेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले मेरो लगानीलाई बताए ।

‘सरकारी स्वामित्वका यी दुई बैंक उस्तै प्रकृतिका भएकोले पनि मर्जरमा लैजानु उपयुक्त देखियो,’ अर्थ मन्त्रालयका ती उच्च अधिकारीले भने, ‘दुई बैंकलाई मर्जरमा लैजादा सञ्चालन खर्च घट्ने र पुँजीका हिसाबले पनि बलियो हुने भएकाले पनि मर्जरमा लैजान उपयुक्त हुने निर्णयमा पुगिएको हो । सरकारी स्वामित्वको अर्को पुरानो बै‌ंक कृषि विकास बैंक भने छुट्टै प्रकृतिको भएकाले मर्जरमा लैजान नहुने निष्कर्षमा सरकार पुगेको छ । कृषि विकास बैंकलाई भने नाम जस्तै काममा पनि कृषिमा नै लगानी गर्न प्रेरित गरिने भएको छ ।

कृषि विकास बैंकको काम भने विशिष्ट प्रकृतिको रहेकाले त्यसलाई मर्जरमा लैजाने कुरा नै नआउने निष्कर्षमा सरकार पुगेको छ। त्यसैले पनि सरकारले कृषि विकास बैंकलाई छाडेर बाँकी दुई ठूला सरकारी बैंकलाई मर्जरमा लैजान लागेको हो ।

अहिले सरकारी लगानीमा ३ वटा बैंक सञ्चालित छन् । राष्ट्रिय वाणिज्य बैकमा शतप्रतिशत लगानी सरकारको छ भने कृषि विकास बैंक र नेपाल बैंकमा ५१ प्रतिशत स्वामित्व सरकारको छ । कृषि विकास बैंक र नेपाल बैंकले सर्वसाधारणलाई शेयर बिक्री गरेर नेपाल स्टक एक्सचेन्जमा समेत सुचीकृत छन् ।

नेपाल बैंक र वाणिज्य बैंकलाई मर्जरमा लगेपछि निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गर्न सहज हुने भएकाले पनि कुनै हालतमा पनि मर्जरमा लैजानु पर्ने निर्णयमा सरकार पुगेको हो ।अहिले चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो निजी क्षेत्रबाट स्थापित बैंक ग्लोबल आईएमई बैंक छ । ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड भन्दा माथि पुगेको छ । यसैगरी, दोस्रो ठूलो बैंक निजी क्षेत्रबाट स्थापना भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड पुगेको छ ।

यदि सरकारी स्वामित्वका दुई ठूला बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक मर्जर भएमा तेस्रो ठूलो बैंक हुने छ । हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड र नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ । दुवै बैंक समान हैसियतमा मर्जर भएमा ३० अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्नेछ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको रिजर्भमा १९ अर्ब ६० करोड रुपैयाँ छ भने नेपाल बैंकको रिजर्भमा २० अर्ब ८६ करोड रुपैयाँ छ । दुई बैंक मर्जर भएमा एकीकृत बैंकको पुँजी कोष ७० अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ ।

 

हाल राष्ट्रिय वाणिज्य बैंकमा सरकारको ९९।९७ प्रतिशत सेयर स्वामित्व छ भने नेपाल बैंकमा ५१ प्रतिशत स्वामित्व छ । राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा शेयर निष्काशन गरिसकेको छैन भने नेपाल बैंकमा ४९ प्रतिशत सर्वसाधारणको शेयर छ । मर्जर भएमा एकीकृत बैंकको निक्षेप संकलन ४ खर्ब ८७ अर्ब ४४ करोड रूपैयाँ पुग्नेछ भने कर्जा लगानी ३ खर्ब ८३ अर्ब ९५ करोड रूपैयाँ पुग्नेछ ।

दुई सरकारी बैंकमध्ये तुलनात्मक रुपमा राष्ट्रिय वाणिज्य बैंकको राम्रो प्रदर्शन देखिएको छ । चालु आवको चैत्र मसान्तसम्मा बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको छ भने र वार्षिकीकृत प्रति शेयर आम्दानी ३०।४९ रुपैयाँ रहेको छ भने बैंकको निष्क्रिय कर्जा ३।८८ प्रतिशत छ भने बैंकको आधार दर ८।६ प्रतिशत र स्प्रेड दर ४।०६ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको नेटवर्थ २२५।३६ रुपैयाँ छ भने रिटर्न अर्न इक्विटी १३।५२ प्रतिशत छ ।

नेपाल बैंकले भने चालु आवको तेस्रो त्रैमासिकसम्म १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने बैंकको वार्षिक प्रति शेयर आम्दानी १६‍।१६ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने तेस्रो त्रैमासमा बढेर ४।१६ प्रतिशत पुगेको छ । बैंकको आधार दर ९।९२ प्रतिशत र स्पेड दर भने ४।१ प्रतिशत रहेको छ ।

राष्ट्र बैकले चालु आवको तेस्रो त्रैमाससम्म स्प्रेड दर ४।२ प्रतिशत र असार मसान्तसम्म ४ प्रतिशतमा झार्न निर्देशन दिए बमोजिम बिग मर्जरमा गएका बाहेक सबै वाणिज्य बैकहरुले स्प्रेड दर ४।२ प्रतिशत भन्दा तल नै कायम राखेका छन् । नेपाल बैंकको नेटवर्थ भने राष्ट्रिय वाणिज्य बैंकको भन्दा अलिक बढी देखिन्छ । बैंकको नेटवर्थ २१४।९७ रुपैयाँ र रिटर्न अन इक्विटी ६।६८ प्रतिशत मात्रै रहेको छ ।

अहिले मुलुकभर १९ बैंक सञ्चालनमा छन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर जाने अन्तिम सम्झौता गरेका छन् । ती दुई बैंक मर्जरमा गएपछि २० वटा मात्रै हुने छन् । सरकारी स्वामित्वका यी दुई ठूला बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक पनि मर्जर भए भने १९ मा सिमित हुनेछन् ।