साउदीमा ३० जना नेपाली अलपत्र, मेनपावरले ठग्यो

काठमाडौँ – साउद अरवमा ३० जना नेपाली अलपत्र परेका छन् । अलपत्र पर्नेमा सिन्धुपाल्चोकका दीपक चौलागाईँ, कुमार गजुरेल, सन्तोष रावल, दोलखाका आइते तामाङ, मकवानपुरका सुदर्शन अधिकारी, सर्लाहीका देवबहादुर अधिकारी, सुनसरीका शिबशक्ति चौधरी लगायत ३० जना युवा छन् ।

६ महिना भइसक्दा पनि तलव नदिएपछि कम्पनीसँग उनीहरुले छलफल गरेका थिए । छलफलका क्रममा मेनपावर कम्पनीसँग भएको सम्झौता अनुसारको सेवा सुविधा हुनपर्ने अडान राखेपछि कम्पनीले कामबाट निकालिदिएको हो । कम्पनीले कामबाट निकालिदिएपछि उनीहरुको बास त्यहाँको मस्जिदमा भएको छ । विभिन्न जिल्लाबाट सवारी चालकको काममा लागि साउदी पुगेका उनीहरुलाई कम्पनीले भने अनुसार काम र सेवासुविधा नभएपछि रोजगारदाता कम्पनीसँग आफ्ना मागहरु राखेका थिए । सम्झौता अनुसार कम्पनीले एक जनालाई १३ सय रियाल दिने र अतिरिक्त समय पनि काम गर्न पाइने थियो । तर कम्पनीले त्यहाँ पुगेपछि ८ सयभन्दा धेरै नदिने बताएको थियो ।

३० जना सवारी चालकका लागि डिमाण्ड ल्याउन कम्पनी हो नेशनल एक्सपर्ट म्यानपाव कन्सल्टेन्ट । साइदी अरवको इब्राहिम मोहम्मत अल वाइवी इष्ट फर ट्रान्सपोटेशन कर्पोरेशनको डिमाण्डका आधारमा नेशनल एक्सपर्टले ३० जना सवारी चालकलाई बैशाख १ गते साउदी उडाएको थियो । यसमा सबएजेण्टको काम गरेको थियो टोकियो ओभरसीसले । एक जनाबाट १ लाख ४० हजारदेखि एक लाख ८० हजार रुपैयाँसम्म उठाएर यो कम्पनीले ३० जनालाई साउदी उडाएको थियो । कम्पनीले १५ दिनमा त्यहाँको सरकारले सवारी चालक अनुमति पत्र दिने र त्यसको एक दुई दिनमानै काम सुरु हुने बताएका थियो । तर उता पुगेपछि लाइसेन्स लिन मात्रै १ महिना कुर्न पर्यो ।

लाइसेन्स लिएर काम सुरु गरेका उनीहरुले ४ महिनासम्म पनि तलव नआएपछि कम्पनीमा सम्पर्क गरेका थिए । रोजगारदाता कम्पनीले महिनाको ८ सय रियाल मात्र दिने भनेपछि उनीहरु छाँगाबाट खसे जस्तै भए । त्यसपछि कर्मचारी र रोजगारदाता कम्पनीविच विवाद सुरु भयो । त्यही विवादका कारण उनीहरुलाई कम्पनीले कामबाट निकालिदियो र अहिले उनीहरुको बास मस्जिदमा भएको छ । रोजगारदाता कम्पनी र मेनपावर कम्पनीका बीचमा पनि सम्बन्ध राम्रो नहुँदा कर्मचारीले दुखा पाएको बुझिएको छ । सुरुमा रोजगारदाता कम्पनीले १३ सय प्लस र टिप्स पाइने भनेर डिमाण्ड पठाएको छ । उक्त डिमाण्ड नक्कली भएको साउदीबाट सम्पर्कमा आएका एक पीडितले बताए ।

नेपालबाट पठाउँदा ट्रान्स्पोर्ट कम्पनीमा सवारी चालकको काम र १३ सय रियाल तलब तोकेको थियो । त्यहाँ पुगेपछि कम्पनीले कन्स्टक्सन कम्पनीमा काम गर्नेलाई मात्र १३ सय रियाल दिन सकिने अडान राख्यो । त्यसमा पनि खाना बस्न सुविधा छैन । डिमाण्ड पठाउने कम्पनी मातहत अर्को कम्पनी पनि भएकाले कम्पनीले त्यहाँ काम गर्न भनेको थियो । तर उनीहरुले मानेनन् । भनेअनुसारको काम नभएको भन्दै उनीहरुले नेपाल फर्काइदिन प्रस्ताव गरेका थिए । कम्पनीले नेपाल फर्किने भए यहाँ आइपुग्न प्रतिव्यक्ति १५ हजार रियाल खर्च गरको भन्दै उक्त पैसा तिरेर जान भनेको छ । ‘एक जना बरबर १५ हजार रियल खर्च भएको छ । त्यो रकम तिरेर नेपाल फर्किन कम्पनीले भनेको छ ।’ साउदी बाट सम्पर्कमा आएका दिपक चौलागाँईले भने, ‘हामीले नेपालमा मेनपावरलाई १ लाख ४० हजार देखि १ लाख ८० हजार तिरेर आएका छौँ । फेरी २ लाख १० हजारसम्म तिर्ने हाम्रो हैसियत छैन् ।’

फ्रि भिसा फ्रि टिकटको व्यवस्था अनुसार रोजगारदाता कम्पनीले भिसा र टिकट दिएको हो । प्रतिव्यक्ति १५ हजार अर्थात २ लाख १० हजार नेपालको मेनपावर कम्पनीलाई पठाएको थियो । यता पनि मेनपावर कम्पनीले १ लाख ८० हजारसम्म उठाएपछि उनीहरु दोहोरो मारमा परेका छन् । यता कामदार पठाउने टोकियो ओभरसीसीले आफूहरु समस्या समाधानका लागि लागिपरेको बताएका छन् । ‘नेपालबाट हामीले हाम्रो प्रतिनिधि साउदी पठाएका छौँ ।’ टोकियोका जनरल म्यानेजर सुरिन गौतमले भने, ‘हामी सकेसम्म उहाँहरुलाई अर्को काममा लगाइदिने प्रयासमा छौँ । यदी उहाँहरुले मान्नु भएन भने अदालती प्रक्रियामा गएर उहाँलाई नेपाल झिकाउँछौँ ।’