एभरेष्ट बैंकबाट बचतकर्ताको करोडौं रकम चोरियो

विराटनगर – केही समयअघि स्याङ्जाकी माया गुरुङ ९नाम परिवर्तन०को ७ लाख रुपैयाँ एभरेष्ट बैंकको खाताबाट गायव भयो । जापानमा रहदा कमाएर पठाएको रकम अर्को खातामा ट्रान्फर गर्दा ७ लाख रुपैयाँ गायव पारेपछि उनी मिडियामा आइन् । उनको पैसा फिर्ता गरिदिएर बैंकले यो विषयलाई सामसुम पार्यो ।

एभरेष्ट बैंक नयाँ बानेश्वर शाखाका शाखा प्रबन्धक र पूर्वी नेपालका एक शाखा प्रबन्धकको मिलेमत्तोमा उक्त रकम हिनामिना भएको थियो । बैंकले उक्त विषयलाई ढाकछोप गर्दा ठूलो दुर्घटना भएको छ । बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएपछि बैंक समस्यामा परेको छ ।

३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सात जना बैंकका कर्मचारी हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे ८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो ।

त्यस्तै धनुसाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् । राईका अनुसार ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान हुन् ।

इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाइघाट सरुवा भएको थियो । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

कर्मचारीले ग्रहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । ‘३३ जनाको खाताबाट खातावलालाई जानकारी नदिइ रकम निकालेको देखिन्छ,’ उनले भने,’ सात जना बैंकका कर्मचारी र अन्य दुई जना पक्राउ परेका छन् ।’ उनीहरु मध्ये गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान २०७९ चैत १२ गते पक्राउ परेका थिए । प्रधानमाथि केरकार गर्दा बैंकभित्रको संगठित जालो पत्ता लागेपछि इटहरी शाखाका ६ जना कर्मचारीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

धनुसाका भुजेल गत वैशाख १० गते र भक्तपुरका खिउजु वैशाख १३ गते पक्राउ परेका थिए । खिउजु र भुजेलले रकम निकाल्न सहयोग गरेको देखिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।