एनआरएनको आइपीओ बाँडफाँड भोली, तपाइँलाई पर्ला की नपर्ला ?

काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भोली सेयर बाँडफाँड गर्ने भएको छ । सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ साउन २७ गते मंगलबार (भोली)बाँडफाँड गरिने भएको हो ।
कम्पनीको आइपीओ मंगलबार बिहान ९ बजे सानिमा क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो।
उक्त शेयर मंगलबार बाँडफाँड गर्न लागिएको हो। क्यापिटलले शेयर बाँडफाँड आफ्नो फेसबुक पेजमा समेत लाइभ गर्ने जनाएको छ।
कम्पनीको आईपीओमा ४ लाख २८ हजार १५३ जना आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको छ। जुन माग भन्दा ५.२४ गुणा बढी हो । धेरैले ठूलो रकमका आइपिओ भरेकाले धेरैलाई १० कित्ता पर्न सक्ने सम्भावना धेरै छ ।