गोंगबु हत्याकाण्ड : घटना भएको घर भेटियो, १ महिला पक्राउ

काठमाडौं –काठमाडौको गोंगबुमा भेटिएको टाउको विनाको सव सम्बन्धी अनसन्धान गर्दै जाँदा हत्या भएको घर पत्ता लागेको छ । दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या पछि टाउको विनाको सव सुटकेसमा भेटिएको थियो भने टाउको झारीमा भेटिएको थियो ।
घटनास्थल मृतकको सुटकेश भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए । उनका अनुसार आइतबार बिहान टाउको र खुट्टा बिनैको शव सुटकेशमा भेटिएको स्थानभन्दा करिब ५० मिटरको दूरीमा घटनास्थल रहेको छ । मृतकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो ।
यसअघि घटना भएको २४ घण्टासम्म प्रहरीले शवको शनाखत गर्न नसकेपछि समस्या भएको थियो । शवको सनाखतकै लागि प्रहरीले उनको फोटोसमेत सार्वजनिक गरेको थियो ।
मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । उनको यस्तो विभत्स ढंगले हत्या कसले र किन गर्यो भन्नेबारे अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले छिट्टै सत्यतथ्य बाहिर ल्याउने बताएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएपनि औपचारिक पुष्टि हुन सकेको छैन ।
आइतबार बिहान ६ बजेतिर गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो ।
त्यस्तै, उनको उनको हत्यामा संग्लग्न भएको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं ल्याउन तयारी भइरहेको प्रहरीको श्रोतको भनाई छ ।