बैङ्कलाई अन्तिम ऋण लिने सुविधा

काठमाडौं – नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । अन्तिम ऋणदाता सुविधालाई राष्ट्र बैंकले नियमित मौद्रिक औजारजस्तै लागू गर्ने गरी आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो । राष्ट्र बैंकले अन्तिम ऋणदातासम्बन्धी नीतिगत व्यवस्था, २०६७ खारेज गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको मनोबल बढाउने र यी संस्थाप्रति आमसर्वसाधारणको विश्वास अभिवृद्धि गर्न राष्ट्र बैंकले यो विनियमावली लागू गरेको हो । राष्ट्र बैंकले भने आफ्नो मातहतका बैंक तथा वित्तीय संस्थालाई बचाउने र संरक्षण गर्ने नीतिगत व्यवस्था गरेको हो ।

यो विनियमावलीअनुसार अब तरलता सङ्कटको अवस्थामा बैंकहरूले राष्ट्र बैंकबाट ऋण लिन सक्नेछन् । विनियमावलीमा बैंकले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाको माध्यमबाट आवश्यक तरलता जोहो गर्न सकेनन् भने राष्ट्र बैंकबाट अन्तिम ऋणदाता सुविधा लिन सकिने व्यवस्था गरिएको छ ।