माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं -माइखोला हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले हुने १९ लाख २१ हजार ५६८ कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय बासिन्दाहरुका लागि निष्कासन खुला गरेको हो ।
यस्तै सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको१ लाख ५२ हजार ९४१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी वैदेशीक रोजगारीमा रहेको नेपालीको लागि निष्कासन खुला भएको कम्पनीको आह्वानपत्रमा उल्लेख छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १० हजार कित्ताका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा ९ चैत र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद २४ चैतसम्म थप हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने ९ चैतभित्र आवेदन दिन सकिनेछ ।