मर्जरपछि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं – मर्जरपछि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । सिभिल बैंकलाई प्राप्ती गरेसँगै हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । शुक्रबार हिमालयन बैंकको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र तत्कालीन सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले पानसमा दियो बालेर एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

सिभिललाई प्राप्ती गरेसँगै हिमालयन बैंक लिमिटेडको कुल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

एकीकृत कारोबार शुभारम्भ गर्दै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ)  अशोक राणाले मर्जरमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । त्यस्तै, उनले नौँ महिनाको लामो कसरत र छलफलपछि दुवै बैंकबीचको मर्जर सफल भएको बताउँदै आगामी दिनमा बैंकलाई थप सबल र उत्कृष्ट बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।