काठमाडौंका मेयर शाक्यले बर्षमा ७ करोड रुपैयाँ अनियममितता गरेको खुलासा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बर्षमा ७ करोड भन्दा बढि रुपैयाँ भत्ताको रुपमा बाँढ्ने गरेको पाइएको छ । मेयर शाक्य निर्वाचित भएदेखि हरेक बर्ष ७ देखि १० करोडसम्म कर्मचारीहरुलाई अतिरिक्त भत्ता बाँढ्ने गरिएको हो ।

मेयर शाक्यले कर्मचारीहरुलाई खुशी पार्नका लागि तलव स्केलको ५० प्रतिशत भत्ता दिने गरेका थिए । महालेखापरिक्षकको बार्षिक प्रतिवेदनमा उक्त रकम वेरुजु देखिएपछि जनताले चासो दिएका थिए । काठमाडौं महानगरपालिकामा भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत एवम् नेपाल सरकारका सचिव एकनारायण अर्यालले खर्चलाई मितव्ययी बनाउन उक्त भत्ताहरु कटौती गरेका छन ।

उक्त भत्ता अस्वभाविक भएको भन्दै चर्को विरोध भएपछि अर्यालले आइतबार वातावरण व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागको ५० प्रतिशत भत्ता यथावत राखेर बाँकी सबै भत्ता कटौती गर्ने निर्णय गरेका हुन ।

यसबाट महानगरको वार्षिक सात करोड रुपैयाँ बचत हुने आँकलन गरिएको छ । यो निर्णय साउन महिनादेखि नै लागू हुने महानगरले जनाएको छ।

वातावरण विभाग अन्तर्गत चालक र कुचिकारका लागि भने सुरु तलब स्केलको ५० प्रतिशत थप भत्ता उपलब्ध गराइनेछ । त्यस्तै, सहरी स्वास्थ्य महाशाखा अन्तर्गत कोभिड १९ को काममा प्रत्यक्ष संलग्न कर्मचारीलाई पनि सुरुको तलब स्केलको ५० प्रतिशत भत्ता उपलब्ध गराइनेछ। त्यसका लागि सम्वद्ध महाशाखा प्रमुखको सिफारिस अनिवार्य गरिएको छ।

‘महालेखा परीक्षकको कार्यालयको बेरुजू सम्बन्धि प्रतिवेदन र सरकारको खर्च मितव्ययिता गर्ने नीति अनुसार प्रशासन विभागको राय बमोजिम भत्ताको हकमा दोहोरो नपर्ने गरी वातावरण व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागको ५० प्रतिशत यथावत राखेर हाललाई अन्य सबै भत्ता कटौती गर्ने निर्णय भएको छ,’ महानगरको निर्णय कपीमा भनिएको छ।