पीसीआर टेस्ट गर्नु कोरोनाको समाधान होइन : मेयर शाक्य

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाको परिक्षण गर्नु कोरोना संक्रमणको समाधान नभएको बताएका छन । पिसिआर टेस्ट गरेर नेपाली पैसा विदेश पठाउन भन्दा आफै सचेत हुनुपर्ने उनको भनाई छ ।
काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुपर्यो भनी आवाज उठिरहेको बारेमा टिप्पणी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण नै रोगको उपचार नभएको स्पष्ट पारे । उनले भने, ‘हामीले बुझ्नु पर्छ, पीसीआर भनेको औषधी होइन । जस्तो हामी ब्लड प्रेसर नाप्न जान्छौँ । बिहान नापेको ब्लड प्रेसर दिउँसो अर्कै भइसकेको हुन्छ । त्यस्तै सुगर जाँच पनि बिहान र बेलुकी नै फरक परिसक्छ । पीसीआर पनि त्यस्तै हो,’ मेयर शाक्यले अगाडी भने, ‘यसले अहिले तत्कालको अवस्था मात्रै बताउने हो । पीसीआर गराउनु पर्यो भनेर अनसन बसेर आफैं हुलमुल गरिरहेका छन् । हुलमुल भएपछि कोरोना आफैं बढेर जान्छ ।’
पीसीआर परीक्षणबाट पैसा विदेश गइरहेको भन्दै उनले भने, ‘पीसीआर गर्दा प्रति व्यक्ति दश हजार जति खर्च पर्न आउँछ । पीसीआर गर्दा चाहिने जम्मै सामान विदेशबाट ल्याउनु पर्छ । यसबाट हाम्रो पैसा बाहिर गयो । फेरि पीसीआर गर्दैमा रोग नलाग्ने पनि होइन । अहिले यहाँ पीसीआर गरेर हामी कतै गयौँ भनेर त्यहाँ कुनै संक्रमित भेटिए फेरि कोरोना सरि नै सकेको हुन सक्छ,’ उनले भने ।