नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ८० करोडभन्दा बढीको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अंकको सुधार आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक ३३.५७ अंक बढेर बन्द भएको हो । यससँगै, आज परिसूचक २ हजार ८० अंकमा पुगेर रोकिएको छ ।
कारोबार सुरु हुँदा परिसूचक २ हजार ४९ अंकमा थियो । आज परिसूचकमा उत्साहजनक वृद्धि हुँदा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ भने ४७ लाख ७९ हजार कित्ता सेयर किनबेच भएको छ ।
यसक्रममा आज १६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य घट्दा ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ । लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ भने च्याङ्दी हाइड्रोपावरको सेयर ९.५६ प्रतिशत र दोर्दी खोला जलविद्युत आयोजनाको सेयर ९ प्रतिशतले बढेको छ ।
परिसूचक ३३ अंकले बढेपनि ३ वटा कम्पनीको सूचक भने घटेको छ । आज लघुवित्त समूहको सूचक ६० अंकले घट्दा म्यूचुअल फण्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ । यस्तै, व्यापार समूह ०.०८ अंकले बढेको छ ।