व्यवसायीलाई खुशीको खवर, खरिद बिक्री खाता प्रमाणिकरण गर्ने म्याद थपियो

काठमाडौं – व्यवसायीहरुलाई खुशीको खवर छ । उनीहरुको आग्रह अनुरुप आन्तरिक राजस्व विभागले खरिद बिक्री खाता प्रमाणिकरणको म्याद थपेको छ । विभागले व्यवसायीको सहजताको लागि पुस मसान्तसम्म म्याद थप गरेको हो ।

खाता प्रमाणिकरणको म्याद साउन मसान्तसम्म मात्रै तोक्दा राजस्व कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्ने गरेको थियो।

खरिद बिक्री खाता प्रमाणिकरणको लागि पुस मसान्तसम्म म्याद थपिएको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले बताए। उनका अनुसार व्यवसायीहरुले भदौ र असोजसम्मको म्याद माग गरेपनि विभागले पुससम्म म्याद थप गरेको हो।

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६९३० बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।

यसअघि विभागले २०६० भदौ ३० को निर्णयानुसार मासिक कर विवरण पेश गर्ने करदातालाई श्रावण महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कार्तिक महिना भित्र खाता प्रमाणित गराउनु पर्ने गरी परिपत्र गरिएको थियो।

हाल विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७७/०७८ का लागि मासिक र द्विमासिक र चौमासिक कर विवरण वुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्त सम्म कायम गरिएको हो ।