निर्देशन नमान्ने चार बैंकले तिरे २ करोड जरिवाना

काठमाडौँ – नेपाल राष्ट्र बैंकको निर्देशन अटेरी गर्ने ४ वटा वाणिज्य बैंक आर्थिक जरिवानामा परेका छन् । गैर–कानूनी रुपमा स्रोत नखुली विदेशबाट आएको रकमको संरक्षण गरेको भन्दै प्रभु बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक र प्राइम बैंक आर्थिक जरिवानामा परेका हुन् ।

विदेशबाट शंकास्पद रकम ओसारपसार गरेको आरोप लागेका व्यक्तिको बैंक खाताहरु निर्देशन बमोजिम रोक्का नगर्दा नेपाल राष्ट्र बैंकले चारवटै बैंकलाई ५०र५० लाखका दरले जरिवाना तिराएको हो । गत पुस ५ गते बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैंठकको निर्णयानुसार बैंकहरुलाई कारवाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

‘पृथ्वीबहादुर शाहको बैंक खातामा अवैद्य रकम ओसारपसार भएको जानकारी पाएपछि बैंकहरुलाई उहाँसँग सम्बन्धित सबै खाता रोक्का राख्न निर्देशन दिएका थियौं । तर उहाँहरुले रोक्का राख्न मान्नु भएन ।’, राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, ‘उहाँहरुले निर्देशन अटेरी गरेको ठहर गर्दै पुस ५ गतेको बैठकले कारवाहीको निर्णय गरेको थियो, सोही अनुसार पुस २२ गते यी बैंकहरुलाई जरिवाना तिर्न पत्राचार गरिएको थियो ।’

राष्ट्र बैंकले २०७७ चैत १९ गते शाहको खातामा शंकास्पद रकम ओसारपसार भएको भन्दै बैंकहरुलाई खाता रोक्का गर्न निर्देशन दिएको थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु उल्लङ्घन गरेको भन्दै नविल बैंक, माछापुच्छ्र्र बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिभिल बैंक र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।