बिग मर्जरमा राष्ट्र बैंकको हस्तक्षप, यी बैंकहरुबीच हुदैछ मर्जर

काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘बिग मर्जर’ लाई प्रोत्साहित गर्ने नीति ल्याएपछि बैंकहरुबीच मर्जरका लागि डौडधुप बढेको छ । विचार मिल्ने बैंकहरुबीच मर्जरमा जान राष्ट्र बैंकले निर्देशन दिएपछि नजिकका बैंकहरु मर्जरका लागि दौडधुपमा लागेका हुन ।

पहिलो चरणमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकबीचमा मर्जरको तयारी सुरु भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यभार सम्हालेलगत्तै नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबाट मर्जर सुरु गर्ने तयारी थालेका थिए । उनले दुवै बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई डाकेर मर्जरमा जाने सुझाव समेत दिइसकेका छन ।

उच्च स्रोतका अनुसार, पहिलो चरणमा मर्जरमा कुन कुन बैंक लैजानु पर्छ भनेर मोटामोटी संस्था तय भएको छ। राष्ट्र बैंकको बुझाइमा अब सिभिल, सेञ्चुरी कमर्सियल, नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल र बैंक अफ काठमाण्डू आफ्नो छुट्टै हैसियतमा चल्न सक्दैनन् भन्ने छ। मेगा, माछापुच्छ्रे, सिद्धार्थ, कुमारी, सनराइज, प्रभु र सिटिजन्स बैंक पनि मर्जरमा जाओस् भन्ने पक्षमा राष्ट्र बैंक छ । यसका साथै सानिमा, एनएमबि र सिद्धार्थलाई फरक हिसाबले हेरिएको छ।

यस्तै ग्लोबल आइएमइ र एनआइसी एसिया बैंकलाई भने राष्ट्र बैंकले फरक तरिकाले हेरेको छ। एउटा बैंकले भर्खरै मर्जर सकाएको र अर्कोले छोटो समयमा सम्पत्ति वृद्धि (ऋण) ह्वात्तै बढाएका कारण राष्ट्र बैंकले यी दुईलाई फरक हिसाबले सोचेको ती अधिकारीले बताए। ‘यी बैंकको भित्रै नपसी केही भन्न सकिन्न,’ उनले भने, ‘मर्जर आवश्यक छ÷छैन भनेर एक पटक अध्ययन नै गर्नु पर्ने छ।’

बाँकी बैंकलाई भने राष्ट्र बैंकले आवश्यकता अनुसार मर्जरका लागि उपयोग गर्ने छ। जस्तो पहिलो वर्गमा रहेका संस्थाहरुलाई यसमा मिसाउन सकिने छ। अन्तिम वर्गमा हिमालयन, नबिल, नेपाल इन्भेष्टमेन्ट र नेपाल एसबीआइ बैंक छन्। स्ट्यान्डर्ड चार्टर्ड र तीन सरकारी बैंकलाई भने मर्जरमा लैजाने पक्षमा राष्ट्र बैंक देखिएको छैन।