एनआरएन इन्फास्ट्रक्चरको आइपिओ भोलीदेखि, आइपिओ भर्नेकी नभर्ने ?

काठमाडौं – एनआरएनहरुको लगानी रहेको एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आइपिओ भोलीदेखि खुल्ने भएको छ । देशका विभिन्न जिल्लाहरुमा बन्दै गरेको हाइड्रो पावरहरुको छाता संस्था एनआरएन इन्फास्ट्रक्चरले सर्वसाधरणका लागि साधारण शेयर जारी गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गर्ने भएको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ । बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीमा जनताले लगानी गर्दैनन् की भनेर कम्पनी त्रसित भएको छ । त्यही भएर कम्पनीले आइपिओको प्रचार प्रशारलाई तिब्रता दिएको छ । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले आफ्नो कम्पनी हाइड्रोपावर कम्पनी नभएको भन्दै प्रचार गरिरहेकी छन । उनले भनेकी छिन, ‘इन्भेस्टमेन्ट कम्पनीको रुपमा हाललाई हाइड्रो कम्पनीमा लगानी मात्र गरिएको छ तथर हामी हाइड्रपावर कम्पनी होइनौं ।’

उनले सबै हाइड्रोलाई एकै बास्केटमा हालेर दाज्न नहुने र कम्पनीले छनौट गरेका आयोजनाहरु राम्रो रहेको बताएकी हुन् । कम्पनीले गहन अध्ययन गरेर लगानी गर्ने हाइड्रो आयोजना चयन गरेको र कम्पनीले चयन गरेका आयोजनाले प्रतिफल दिने उनले बताएकी छिन् । उनले आफ्नो कम्पनीले यस अघि नै ७.३९ प्रतिशत बोनस शेयर प्रदान गरिसकेको र अबको दिनमा पनि राम्रो प्रतिफल दिने भएकोले कम्पनीमा लगानी सुरक्षित हुने बताएकी छिन् ।