बैङ्कमार्फत महानगरलाई राजस्व तिर्दा भौचर भर्नु नपर्ने

काठमाडौं -काठमाडौं महानगरपालिकाका राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभागमा राजस्व, सेवा शुल्क तथा दस्तुर तिर्दा बैङ्क भौचर भर्नु नपर्ने भएको छ। हातले भौचर भर्दा सेवाग्राहीले धेरै दुस्ख पाएकाले सप्टवेयर प्रणाली लागू गरेको राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले जानकारी दिए।
राजस्व विभागका अधिकारीका अनुसार यस प्रणालीको सबैभन्दा पहिला सेवाग्राही विभागको अकाउन्ट डेक्समा गएर विवरण दिनुपर्छ। यो विवरण सफ्टवेयरमा भरेपछि एउटा कोड सिर्जना हुन्छ। यसलाई प्रिन्ट गर्दा कोड, सेवाग्राही नाम र तिर्नुपर्ने रकमको स्लिप आउँछ। यो स्लिप लिएर एनआइसी एसिया बैङ्कको काउन्टरमा लगेर दिनुपर्छ।
बैङ्कका कर्मचारीले यो कोड सफ्टवेयरमा प्रविष्ट गराउँछन्। यसबाट उनीहरूलाई महानगरका कर्मचारीले भरेको विवरण प्राप्त हुन्छ। यही विवरणबाट भौचर तयार हुन्छ। यस भौचरमा सेवाग्राहीको फोन नम्बर र हस्ताक्षरबाहेक अरू कुनै पनि विवरण भर्नु पर्दैन।