काठमाडौंका मेयर शाक्यको गोजीबाट १ अर्ब ४० करोड रुपैयाँ गायव !

काठमाडौं – काठमाडौं महानगरपालिकाको ढुकुटीबाट १ अर्ब ४० करोड रुपैयाँ हराएको छ । एक निजी बैंकमा भएको महानगरपालिको मुद्धती खातामा जम्मा गर्ने भनेर छुट्याएको रकम गायव भएको हो ।

महानगरपालिकाले बचत रकम मध्य २ अर्ब ४० करोड रुपैयाँ मुद्धतिमा राख्ने निर्णय गरेर बजेट छुट्याएको भए पनि २०७५ साल माघ २ गते एक अर्ब मात्र बैंकमा जम्मा गरेको देखिएको छ । महालेखापरिक्षकको बार्षिक प्रतिवेदनमा भनिएको छ, ‘महानगरपालिकाले बचत रकममध्ये २०७५ माघ २ गते १ अर्ब एक निजी बैंकको १ बर्षे मुद्धतीमा राखेको र थप १ अबि ४० करोड मुद्धतीमा राख्ने निर्णय भएको भएपनि कार्यन्वयन भएको छैन ।’

उक्त रकम किन बैंकमा जम्मा भएन ? भन्ने विषयमा महानगरपालिकाले कुनै प्रतिक्रिया जनाएको छैन । महानगरपालिकाले विकास निर्माणमा खर्च गर्नुपर्ने बजेट मुद्धतीमा राखेर व्याज खानुनै गैरकानुनी कार्य भएको भएपनि मुद्धतीमा राख्ने भनेको रकम बैंकमा जम्मानै नहुनु अच्चमको कुरा हो ।

महालेखापरिक्षकको कार्यलयले विकास निर्माणमा खर्च गर्न र सेवा प्रवाहको लागि खर्च गर्नुपर्ने रकम मुद्धतीमा राख्नु गैरकानुनी रहेको जनाएको छ । आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिवेदनमा मुद्धतीमा पैसा जम्मा गर्नका लागि स्रोत परिचालन सम्बन्धी नीति तर्जुमा गरी कार्यन्वयन गर्नुपर्नेमा त्यसो नगरी आफूखुशी गरेको उल्लेख छ ।

त्यस्तै, महानगरपालिकाको आर्थिक बर्ष २०७५/७६ मा एक अर्ब ४३ करोड ९४ लाख रुपैयाँ वेरुजु देखिएको छ । १५ अर्ब २० करोड ३२ लाख रुपैयाँको लेखापरिक्षण गर्दा उक्त रकम वेरुजु देखिएको हो । आजसम्म काठमाडौं महानगरपालिकाको २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ वेरुजु रहेको छ ।

महानगरपालिका घर बहाल कर उठाउन समेत असफल भएको छ भने व्यवसाय कर पनि उल्लेख्य मात्रामा उठाउन सकेको छैन । मेयरमा निर्वाचत भएको वेला महानगरपालिकाका मेयर बिद्यासुन्धर शाक्यले घोषणा गरेका अधिकाँश कार्यक्रमहरु कायन्वयन भएका छैनन् । यसमा पनि महालेखापरिक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ ।

(नोट : ‘मेयर शाक्यको गोजी’ भन्नाले महानगरपालिकाको ढुकुटीलाई इङ्कित गर्न खोजिएको हो । सम्पादक)