अर्थमन्त्री पौडेल आएपछि राजस्व असुलीमा सुधार भएको हो 

काठमाडौं_चालु वर्षको ६ महिनामा पोहोर भन्दा कम राजस्व उठेको छ। पोहोरभन्दा ८३ अर्ब ९४ करोड कम राजस्व संकलन गरेको हो।

चालु वर्षको ६ महिनामा सरकारले कुल कर र गैरकर शीर्षकमा ४ खर्ब ५८ अर्ब राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०७८र०७९ मा सरकारले ५ खर्ब ४३ अर्ब राजस्व उठाएको थियो। अर्थमन्त्री विष्णु पौडेलले गत वर्ष भन्दा पनि कम राजस्व उठ्नु चिन्ताजनक भएको बताउँदै राजस्व प्रशासनमा ठूलो सुधार आवश्यक रहेको बताएका छन्।

‘राजस्वमा सिपेज, लिकेज र भ्रष्टाचारका कुरा वर्णन गरिसाध्यै छैन। तर मलाई विगततिर फर्किने त्यति सुविधा छैन। भविष्यको राम्रो कुरा गर्ने मात्रै छुट छ,’ उनले शनिबार आर्थिक पत्रकारसँगको कुराकानीमा भनेका थिए, ‘त्यही भएर मैले सचिवहरुलाई भनेको छु राजस्वमा निर्ममतापूर्वक अगाडि बढ्नुस्। कुनै कर्मचारीको भन्सारमा कसलाई लैजाने भनेर पोष्टिङमा रुचि राख्दिन। तर, म सिपेज, लिकेज र करप्सन सुन्न सक्दिन। यो भनेको हिजोको सेटिङको चेनब्रेक नगरी सुधार सम्भव छैन।’

पौडेल आएपछि राजस्व प्रशासनमा देखिएको वेथितिलाई लगाम लगाउने प्रयास गरिरहेका छन्। राजस्व प्रशासनमा ज्ञान नै नभएका व्यक्तिलाई भन्सार र राजस्व कार्यालयमा पोष्टिङ गर्दा असुली प्रभावित भएको थियो। पौडेलले अघिल्लो अर्थमन्त्री जनार्दन शर्माले मनलाग्दी हिसाबले कर्मचारी परिचालन गरेका थिए।

पुस मसान्तमा समेत अपेक्षाकृत राजस्व नउठेपनि नयाँ मन्त्री आएपछि राजस्वको अवस्थामा सुधार आएको मन्त्रालयले दाबी गरेको छ।

मन्त्रालयले मंसिरको तुलनामा पुसमा सुधार आएको दाबी गरेको छ। मंसिरमा भन्सारले गतवर्ष भन्दा ३३।२७ प्रतिशत, आन्तरिक राजस्व विभाग २।६५ प्रतिशत गैरकरमा २०।९७ ऋणात्मक रहेर कुल २०।७४ प्रतिशतले कमी थियो। तर पुसमा भन्सारको ३१।८४ प्रतिशत, आन्तरिक राजस्व विभागको १।६, गैरकरमा ११।७७ ऋणात्मक रहेर कुल १५।३२ प्रतिशत रहेकोले क्रमिक सुधार हुँदै गएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

सरकारले पुसमा राखेको राजस्वको लक्ष्यमध्ये कुनैपनि शीर्षकमा लक्ष्य पुरा गर्न सकेको छैन। यो महिनामा ८० अर्ब ३० करोड लक्ष्यमा ५३ अर्ब ३९ करोड मात्रै संकलन गरेको छ।

यो कुल लक्ष्यमा साढे ६६ प्रतिशत मात्रै प्रगति हो । यस्तै अन्तस्शुल्क शीर्षकमा २० अर्ब ५२ करोड लक्ष्यमा ११ अर्ब २४ करोड राजस्व उठेको छ। भ्याटमा ३४ अर्ब ५४ करोड लक्ष्यमा २३ अर्ब ६९ करोड मात्रै राजस्व संकलन भएको छ।

शिक्षा सेवा शुल्कमा १२ करोड ९२ लाख लक्ष्यमा १२ करोड ८५ लाख राजस्व उठेको छ। समग्रमा राजस्व विभागले १ सय ६ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा ७१ अर्ब ३१ करोड मात्रै राजस्व असुल भएको छ।

यसैगरी भन्सार विभागले पनि पुसमा लक्ष्यको ५५।६ प्रतिशत मात्रै प्रगति गर्न सकेको छ। यो महिना भन्सारले ५८ अर्ब ३८ करोड लक्ष्य लिएकोमा ३२ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ।