निगमले सञ्चय कोषलाई बुझायो ऋणको किस्ता

काठमाडौं _ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो ।

निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरेको जनाएको छ ।
यसअघि निगमले असार ३० गते एक अर्ब ३५ करोड र असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको थियो ।

निगमले असोजमा बुझाएको किस्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकामा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ र नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रुपियाँ गरी जम्मा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ रहेको थियो ।