रिडी हाइड्रोका अध्यक्ष न्यौपानेलाई धितोपत्र बोर्डले कुनै पनि पब्लिक कम्पनीको सञ्चालक हुन नपाउने गरि गर्यो कारबाही

काठमाडौं – रिडी हाइड्रोपावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई धितोपत्र बोर्डले कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा रहन नपाउने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
न्यौपानेले आफू अध्यक्ष रहेको बेला कम्पनीको शेयर किनबेच गरेका थिए । ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९’ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिले पदमा बहाल रहँदासम्म वा अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा सहायक कम्पनीको शेयर किनबेच तथा हस्तान्तरण गर्न नपाउने प्रावधान बिपरित शेर खरिद गरेको भन्दै न्यौपानेलाई कारवाही गर्ने निर्णय गरेको हो।
उनले २०७७ चैतदेखि २०७८ भदौ पहिलो सातासम्म कम्पनीको शेयर किनबेच गरेका थिए । बोर्ड स्रोतका अनुसार न्यौपानेलाई ७५ हजार रुपैयाँ जरीवाना गर्दै १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा रहन नपाउने गरी कारबाही गरिएको छ ।
त्यस्तै बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई नगद जरीवाना गरेको छ । केयर रेटिङ नेपाललाई भने स्पष्टीकरण सोधेको छ । केयर रेटिङ नेपालले विशाल ग्रूपसँग सम्बन्धित युनाइटेड डिष्ट्रिब्युटर्स प्रालि, एशियन डिष्ट्रिब्युटर्स प्रालि, भीजी अटोमोवाइल्स, घोराही सिमेन्ट, मैनावती स्टील प्रालि, ग्लोबल टेडिङ कन्सर्नलगायत कम्पनीहरूको बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गरेको थियो ।
बोर्डका अनुसार सनीले तोकिएको समयमा प्रतिवेदन पेश नगरेका कारण धितोपत्र ऐन २०६३ अनुसार १० हजार जरीवाना गराएको हो । इम्पेरियलले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा १०१ को ४ अनुसार ७५ हजार जरीवाना गराउने निर्णय गरिएको बोर्डले बताएको छ । यस्तै त्रिशूललाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै ७५ हजार रुपैयाँ नै जरीवाना गराउने निर्णय गरिएको हो ।