नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एकीकृत कारोबार आजबाट शुरु

काठमाडौं –  नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आजबाट ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरू गर्ने भएको  छ।

यी दुई कम्पनी एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखी  एकीकृत कारोबार शुरू हुन लागेको हो। गत पुस ७ गते बसेको ती कम्पनीको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए।

नेपाल राष्ट्र बैंकले पनि ती कम्पनीलाई मर्जरमा जान गत पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। हाल इन्भेष्टमेण्ट बैंकको चुक्तापूँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको चुक्तापूँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा रहने छ ।

मर्जरपश्चात् कम्पनीको जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ६० अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी कम्पनीको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कुल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ । मर्जरपश्चात् कम्पनीको शाखा कार्यालय २९६ ओटा र एटीएम संख्या २७९ ओटा पुगेको छ । त्यस्तै, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या करीब ३० लाख पुगेको कम्पनीले बताएको छ ।