नक्कली नोट छाप्ने मेसिनसहित एक युवा पक्राउ

काठमाडौं – नक्कली नोट छाप्ने मेसिनसहित एक युवा पक्राउ परेका छन । काठमाडौंको मण्डिखाटार बस्ने २२ वर्षीय प्रशान्त सिंह ठकुरी नक्कली नोट र नोट छाप्ने मेसिन सहित पक्राउ परेको हुन ।

सेन्ट जेभियर्स कलेजमा बीबीएस अध्ययन गरिरहेको ठकुरी अनलाइनमा बेच्न राखिएको स्मार्ट फोन किन्दा नक्कली नोट दिएका कारण पक्राउ परेका हुन । एकजनाले ‘भिभो–३’ मोवाइल बेच्न, विद्युतीय माध्यम अनलाइनमा सूचना पोष्ट गरे । त्यहाँ मोबाइलको फोटो पनि राखिएको थियो । किन्ने चाहने युवाले फोन गरे, स्वयम्भू हलचोकमा भेटेर मोबाइल किनबेच गर्ने कुरा भयो । २० हजार पाँच सयमा मोबाइल किन्ने बेच्ने सहमति भैसकेको थियो ।

बुधवार मोबाइल किन्ने युवा कार चढेर आए । हलचोकमा भेटेर मोबाइल लिए अनि, आफैंले पैसा गनेर मोबाइल बिक्रेतालाई दिए । खाममा हालेर बिक्रेतालाई पैसा दिने व्यक्ति, हाइप्रोफाइल परिवारका प्रशान्त सिंह ठकुरी हुन ।

पछि, खामबाट पैसा झिकेर हेदा मोवाइल बेच्नेलाई नोटको गुणस्तर बारे शंका लाग्यो । उनले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा गएर नोट देखाए । नोट नक्कली रहेको खुल्यो ।

मोबाइल किनबेच गरेको केही बेरमै प्रशान्तलाई प्रहरीले पक्रियो । १९ हजार नक्कली नोट सहित हामीले प्रशान्त सिंह ठकुरीलाई पक्रेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

नेपालगञ्ज उप–महानगरपालिका–३ घरबारीटोल स्थायी घर भएका प्रशान्तले घरमै कलर प्रिन्टरबाट नक्कली नोट छापेको बताएका छन् । प्रशान्तले दिएको २० हजार ५ सय मध्ये १ हजार दरका १९ वटा नोट नक्कली रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।