कोरोना बीमा रकम थप गर्न नेपाल री(इन्स्योरेन्सलाई प्राधिकरणले पठायो पत्र

काठमाडौं – पछिल्लोपटक कोरोना बीमाको दाबी भुक्तानी वितरणमा पनि नाम छुटेकाहरुले पाउँछन् पाउँदैनन् भन्ने अनिश्चित भएको छ। दायित्व बेहोर्नुपर्ने कम्पनीको बोली फेरिएपछि दाबी भुक्तानी वितरण टुंगो नलागेको हो।

नेपाल बीमा प्राधिकरणले पछिल्लोपटक कोरोनाको थप दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनी (री(इन्स्योरेन्स)लाई पुन: पत्र पठाएको छ।

लामो समयदेखि बाँकी रहेको कोरोनाको दाबी भुक्तानी सरकार, प्राधिकरण निर्जीवन बीमा कम्पनी र नेपाल रीले मिलेर दिने निर्णय भएको थियो। सरकारले दिएको दिएको एक अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप रकम बीमा कम्पनी २५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनी १२ प्रतिशत र बीमा प्राधिकरणले ८ प्रतिशत रकम तिर्नुपर्ने समझदारी थियो।

सरकार, प्राधिकरण र निर्जीवन बीमा कम्पनीहरुले बाँकी भुक्तानीका लागि आफ्नो भागमा परेको थप रकम दिएका थिए भने नेपाल री(इन्स्योरेन्स कम्पनीले भने ८ प्रतिशत रकम अर्थात करिब २२ करोड रुपैयाँ नब्योहोर्ने निर्णय भएको जानकारी गराएको थियो।

कोरोना बीमा गरेकाहरु लामो समयदेखि दाबी भुक्तानीको प्रतीक्षा सूचीमा छन्। कम्पनीहरुले कोरोना बीमाको पोलिसी बेचेर भुक्तानी नदिँदा बीमा बजारमै विश्वासको संकट छ।

आफ्नो थप दायित्व नभएको दाबी गर्दै नेपाल री(इन्स्योरेन्स कोरोना बीमाका लागि थप रकम नदिने अडानमा छ। कम्पनीको उक्त निर्णयलाई अस्वीकार गर्दै बीमा प्राधिकरण भने थप रकम तिर्न पत्राचार गरिरहेको छ। गत महिना नेपाल रीले रकम नदिँदा तोकिएको संख्यामा बीमितहरुलाई दाबी भुक्तानी वितरण गर्न नसकेको प्राधिकरणले जनाएको छ।

यसले गर्दा नेपाल रीलाई थप रकमका लागि फेरि पत्र पठाइएको बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पराजुलीले बताए।
‘सरकारको निर्णयलाई कम्पनीले मान्नुपर्छ। थप पैसा नदिँदा बीमितहरुले दाबी भुक्तानी कहाँबाट पाउँछन्,’ उनले भने। आफ्नो दायित्वअनुसारको रकम रीले उपलब्ध गराउनुपर्ने उनले बताए।

प्राधिकरणले थप रकमका लागि पत्र पठाएको नेपाल री(इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले पुष्टि गरे। ‘प्राधिकरणले हामीलाई पत्र पठाएको छ तर त्यसबारे कम्पनीमा कुनै पनि छलफल भएको छैन,’ उनले भने।

कम्पनीको दायित्व नभएकाले पहिले पनि थप रकम नदिने निर्णय भएको उनले बताए। ‘कोभिडको बाँकी दाबी भुक्तानीका लागि सञ्चालक समितिले यसबारे छलफल गरी निर्णय गर्छ। यसले गर्दा अहिले रकम दिने र नदिने कुनै जानकारी छैन,’ सीइओ रायमाझीले भने।