हतारहतारमा गर्यो क्यानले टी ट्वान्टी लीगका लागि टीम घोषणा

काठमाडौं—नेपाल क्रिकेट एसोसियसन क्यानले हतार–हतारमा टी ट्वान्टी लीगका लागि ४ टीम र त्यसका संचालकको घोषणा गरेको छ । भारतको एस थ्री स्पोर्ट्स कम्पनीलाई लीग संचालन गर्न दिने सम्झौता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा हतारहतारमा टीम घोषणा गरेर क्यानले नयाँ चटक देखाएको हो ।

आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा क्यान र लीग आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले पहिलो संस्करणको नेपाल टी ट्वान्टी लीगका लागि सहभागी ६ मध्ये चार टोली र सो टोलीको मालिकको घोषणा गरेको छ ।

प्रतियोगिताका लागि कान्तिपुर क्पापिटल,लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किग्स र जनकपुर रोयल्स गरि चार टोलीको मात्र घोषणा भएको हो । जसमध्ये एक टोली मात्र नेपाली कम्पनीको स्वामित्व रहेको छ भने एउटा टोली अमेरिकी र दुई टोलीमा भारतीय स्वामित्व रहेको छ । जसअन्तर्गत कान्तिपुर क्यापिटलको मालिक महेश्वर स्वार, लुम्बिनीको सञ्जय शर्मा, विराटनगरको बिक्रम यादव र जनकपुरको गौरी शंकर धामनी रहेका छन् ।

क्यानले केही दिनमै सहभागी अन्य दुई टोलीको घोषणा गर्ने जनाएको छ । क्यानले यसअघि नै प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान तथा सर्वोच्च अदालतमा मुद्धा चलिरहँदा क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सहभागी ६ मध्ये चार टोलीको घोषणा गरेको हो ।

नेपालको कानुन मिचेर आयोजना अधिकार दिइएको भन्दै अख्तियार तथा अदालतमा मुद्धा पर्नुका साथै प्रतिनिधिसभामा समेत छलफलको विषय बनिसकेको प्रतियोगिताका लागि मुद्धाको अन्तिम टुंगो नलागिकन ति सबलाई बेवास्था गर्दै टिम घोषणा गरिएको हो ।

अख्तियारले नेपाल टी २० क्रिकेट लीग भारतीय कम्पनीलाई आयोजना अधिकार दिएको विषयमा विस्तृत अनुसन्धान अघि बढाइसकेको छ ।भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई विना प्रतिस्पर्धा टी २० लीग सञ्चालन गर्न दिएको विषयमा परेको उजुरीमाथि प्रारम्भिक छानविनपछि अख्तियारले नेपाल क्रिकेट संघ (क्यान)माथि विस्तृत अनुसन्धान गर्न लागेको हो ।